हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगरपालिकाको प्रमुखको पुनः मतगणना असार २ गते  : परिणाम के आउला ? सर्वत्र चासो

प्रहार समाचार । पोखरा, जेठ ११ ।  तनहुँको व्यास नगरपालिकाको प्रमुखको पुनः मतगणना असार २ गते गर्न उच्च अदालत पोखराले आदेश दिए संगै परिणाम के आउला भन्ने विषय अहिले सर्वत्र चासोको विषय भएको छ ।

खसेको मत र बदर मत कुल मतसँग नमिलेको उल्लेख गर्दै फैसलाको पूर्णपाठमा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ बमोजिम पुरानो परिणाम बदर गरी पुन मतगणना गर्न आदेश दिइएको हो । उच्च अदालतका न्यायाधीशहरु राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले गरेको जेठ २ गते गरेको फैसलाको पूर्णपाठ आज सार्वजनिक भएको हो ।

व्यास नगरपालिकाका प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटको फैसलाको पूर्णपाठमा यस्तो उल्लेख छ ।

असार २ गते ११ बजे मत गणना सुरु गर्न खर्च व्यवस्थापन र समन्वयका लागि निर्वाचन आयोगलाई लेखी पठाउने पूर्णपाठमा उल्लेख छ । स्थानीय तह मतगणना निर्देशिका २०७८ बमोजिम मतगणना फारममा वडा नम्बर ४ र ५ को बदर मत कतै उल्लेख नभएको, ७ र ११ को आंशिक उल्लेख भएको पूर्णपाठमा जनाइएको छ ।

पूर्णपाठमा भनिएको छ, “यसरी एउटै वडाबाट नगर प्रमुखको पदका लागि खसेको मत बदर र पूर्ण बदर भएको तथ्याङ्क फरक फरक ठाउँमा फरक फरक उल्लेख हुनुलाई रितपूर्वक मान्न मिल्ने देखिएन ।”

व्यासको मतगणनामा धाँधली भएको भन्दै जोशीले २०७९ जेठ १२ गते रिट दर्ता गर्नुभएको थियो । गएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठ न्यौपाने व्यास नगरपालिका प्रमुखमा १२ हजार ७८ मतसहित विजयी घोषणा भएका थिए।  ११ हजार आठ सय २६ मत पाएका निकटतम प्रतिस्पर्धी जोशीले पुनः मतगणना माग गर्दै रिट दायर गरेका थिए । जोशीले २ सय ५२ मत कम पाएका थिए । जोशी कैची चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार कारूपमा चुनावी मैदानमा उत्रिएका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button