प्रहार समाचार । तनहुँ, जेठ ७ । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी हुँदा लाखौंको क्षति भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको फलफूल लाइनमा राति आगलागी भएको हो।

आगलागीका कारण यहाँका करिब २० वटा अस्थायी सटर टहराहरु पूर्णरुपमा जलेका छन् । तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकलको सहायताले बिहान ३ः४५ बजे आसपास आगलागी निभाइएको प्रहरीको भनाइ छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहयोग गरेका थिए ।
आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । उक्त सटरहरुमा पुस्तक पसल, विज भण्डार, फलफूल पसल, मदिरा पसल, मोवाइल हाउस लगायतका पसलहरु संञ्चालनमा थिए ।

























