प्रहार समाचार । तनहुँ, जेठ ६ । तनहुँको एक व्यास नगरपालिका–१२ कमलबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्ने ११ वर्षका युकेश रुचाल सात दिन देखि सम्पर्क विहीन भएका छन्।

गत आइतबार आफ्नो घर व्यास नगरपालिका–१२ को कर्लुङ रैकरबाट खेल्न जान्छु भनी गएपछि सम्पर्कमा नआएको परिवारले बताएका छन् । एक साता अघि घरबाट खेल्न जान्छु भनी निस्किएका बालक हालसम्म घर नर्फिएपछि परिवारजन चिन्तामा परेको सिद्धेश्वरी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक प्रतापसिंह अधिकारीले जानकारी दिए ।
छोरा घरमा नफर्किएपछि बालकका बुबा मनबहादुर रुचालले खोजतलासको लागि निवेदन दिएको र हालसम्म फेला पार्न नसिकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मोहनबहादुर खड्काले बताए । बालकलाई फेला पार्नेलाई नजिकको प्रहरी वा र ९८१७१२७२५३ मा फोन गरी जानकारी दिन परिवारले आग्रह गरेको छ ।

























