प्रहार समाचार । तनहुँ( बन्दिपुर ) जेठ ६ । चिटिक्क परेका परम्परागत नेवारी आर्किटेक्ट जोगाइराखेका घरहरू, स्थानीय स्लेट ढुङ्गाले चिटेको बाटो,नेवार, मगर, गुरुङ अनि विभिन्न जातजातीको जिउँदो जातीयसंग्रहालय, रकक्लाइम्बिङ, प्याराग्लाइडिङ, र्याफ्टिङ लगायत एड्भेञ्चरको मज्जा, मनै लोभ्याउने सूर्योदय र सूर्यास्त अनि फराकिला हिमशृङ्खलाको अवलोकन तथा अद्भुत अनुभव संगाल्न पुग्नै पर्ने ठाउँ हो तनहुँको बन्दिपुर ।

‘पहाडकी रानी’ उपनामले परिचित बन्दिपुर तनहुँ जिल्लाको पूरानो सदरमुकाम पनि हो । मगर भाषामा ‘बन’को अर्थ जंगल र ‘डी’को अर्थ पानी हो । जंगलबाट आएको पानी भन्ने अर्थ लाग्ने गरि बन्डिपुर हुँदै पछि बन्दिपुर नामाकरण भएको स्थानीयहरू बताउँछन् ।
नेवारी शैलीका परम्परागत घरहरू भएको बन्दिपुर बजार करिब चार सय वर्ष पहिले भक्तपुर र कीर्तिपुरबाट आएका नेवारहरूले बसालेको बस्ती हो । भक्तपुरे शैलीका चिटिक्क परेका घरहरू बन्दीपुरको मुख्य आकर्षण हो । ती घरहरू बन्दीपुरका ऐतिहासिक सम्पदा हुन् । जसले बन्दीपुरको इतिहास, संस्कृति र परिचय बोकेका छन् ।
१८ औं र १९ औं शताब्दीमा बन्दिपुर भारत र तिब्बत बीचको मार्गमा एक महत्वपूर्ण व्यापारिक केन्द्र थियो । ब्यापारीहरू कोलकता जाने, काठमाडौं र तिब्बतसँग ब्यापार गर्नका लागि बन्दिपुरको बाटो प्रयोग गर्दथे । यस्तै मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लम्जुङ्ग, गोर्खा र मनाङ्गको लागि चितवनतर्फबाट सामान ल्याउने मुख्य व्यापारिक नाका थियो बन्दिपुर ।
२०२५ सालमा बन्दिपुरबाट तनहुँको सदरमुकार दमौली सारियो । सदरमुकाम सरेपछि बन्दिपुर सुनसान बन्यो । २०५० सम्म आइपुग्दा सुन्दर बन्दिपुर बजार खण्डहरमा परिणत भएको थियो । त्यतिखेर बन्दीपुर ‘डेड सिटी’ अर्थात् ‘मृत शहर’ भनेर समेत चिनिएको थियो । कतिपयले बन्दीपुरलाई ‘भूत गाउँ’ भनेर समेत सम्बोधन गर्न थालेका थिए ।
तर, पछि फेरि बन्दिपुरबाट काठमाडौं र भक्तपुर फर्केका नेवार समुदायले बन्दिपुरको विकासका लागि पुनः पहल गरे । २०६३ पछि बन्दिपुरलाई पुनः पर्यटकीय गन्तव्यको रुपमा चिनाउने काम भयो । यसपछि क्रमशः बन्दिपुरलाई पर्यटकीय नगरीको रुपमा परिचित बनाउँदै लगियो ।
सन् २००५ मा ‘बन्दीपुर इको कल्चरल टुरिजम प्रोजेक्ट’ अन्तर्गत बन्दीपुरको ‘रिनोभेसन’ शुरू गरिएको थियो । त्यसपश्चात पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले जीर्ण बनेका घरहरूलाई पूरानै शैलीमा सुन्दर डिजाइन र आकार दिएर सिँगारियो ।
बजार बीचको बाटो र आसपासका गोरेटाहरूमा बन्दिपुरकै स्लेट ढुङ्गा छापिए । उकालो, ओरालो बाटाहरूमा खुड्किला बनाएर हिँड्न सहज भयो । यसरी मेहनत गरेपछि बन्दिपुर बेहुलीझैं चिटिक्क सिँगारियो ।
बजार बीचमा सवारीसाधन प्रवेशमा रोक लगाइयो । जसले गर्दा बन्दिपुर बजार शान्त गन्तव्य बनेको छ । सवारीसाधन रहित बन्दिपुर बजारको बीच सडकमा हरेक होटल, रेष्टुरेन्ट अगाडि टेबल, कुर्सी राखिएका छन्, जहाँ बसेर बजार क्षेत्रको दृश्यावलोकन गर्दै खानपिन गर्न सकिन्छ ।
सांकृतिक सम्पदा र प्राकृतिक मनोरमताको प्रचारप्रसारसंगै बन्दिपुर ‘डेड सिटी’ बाट ‘टुरिजम सिटी’को रुपमा अहिले विश्वभर नै प्रसिद्ध छ । यस पालिकाको गरिमा र इतिहासलाई बचाई राख्न तथा समग्र बन्दिपुरको विकाशमा पालिका लागिपरेको बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।
























