प्रहार समाचार । काठमाडौ, बैशाख २६ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो जस्तो मुलुकमा औधोगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको धारणा व्यक्त गरेका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा आयोजित नेपाल १७ औँ अन्तर्राष्ट्रिय औधोगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ को बुधबार काठमाडौँमा उदघाट्न गर्दै राष्ट्रपति पौडेलले भने “गरीवी न्यूनिकरण, रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिएर यस क्षेत्रमा विद्यमान पूँजी, कच्चा पदार्थ, प्रतिस्पर्धात्मक क्षमता, बजारीकरण, दक्ष जनशक्तिलगायतका समस्या समाधानमा सरकार र व्यवसायीले हातेमालो गरेर अघि बढ्नुपर्दछ भन्ने मलाई लाग्दछ”
राष्ट्रपति पौडेलले मुलतः स्थानीय श्रम, सीप, प्रविधि, कच्चा पदार्थ, जनशक्ति प्रयोग गरी थोरै लगानीमा गर्न सकिने उद्योगबाट उत्पादन र उत्पादकत्व बढाउँदै आयआर्जनका माध्यमबाट स्थानीयस्तरमा नै आत्मनिर्भर हुँदै सबल राष्ट्रिय अर्थतन्त्र निर्माणमा योगदान दिन यस्ता उद्यम व्यवसाय बढी फलदायी हुने पनि विश्वास लिदैं भने “यसबाट नेपाली सीप, श्रम र संस्कृति बजारीकरण हुँदै विदेशमा समेत पुग्ने र निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा पनि टेवा पुग्नेछ।”
महासंघले लघु, घरेलु तथा साना र महिला उद्यमीद्धारा उत्पादित औद्योगिक उत्पादनहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवद्र्धन गर्न आयोजित यस्ता औद्योगिक प्रदर्शनीले मुलुकमा उद्योग व्यवसायको विकास र विस्तारमा योगदान दिने पनि राष्ट्रपति पौडेलले विश्वास लिए ।




























