• पूर्ण वि क
प्रहार समाचार । तनहुँ, बैशाख २६ । ‘‘स्वर्गीय आमाको झलझली याद आयो र न्यास्रो मेट्न आश्रमका आमाहरु भेट्न आएको हुँ’’, व्यास नगरपालिका वडा नम्बर ३ का ५० बर्षीय दिपक रानामगर बोल्दा बोल्दै भक्कानिए, ‘‘आमाको अभावमा उनको याद झनै आउँदो रहेछ ।’’

व्यास नगरपालिका वडा नम्बर ५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आश्रय लिदैं आउनुभएका आमाहरुलाई भेटेपछि रानामगर भावनामा दुबेका हुन् । २०७७ साल मंसिर ८ गतेका दिन ६९ बर्षीया आमालाई आफूले गुमाएदेखि जहिल्यै आमाको अभाव खड्किएको रानामगरले बताए । नौ महिनासम्म गर्भमा राखी कष्ट सहेर जन्म दिने आमाको तुलनामा दोस्रो कोही पनि हुन नसक्ने आफूले ठानेको रानामगरको भनाई छ ।
‘‘आमाको अभावमा यति धेरै विक्षिप्त भईने रहेछ की कतै बुढी मान्छे देखिएपनि मेरै आमा झै लाग्ने रहेछ’’, रानामगरले भने – ‘‘ज्येष्ठ नागरिक आश्रममा बुबाआमालाई पठाउन बाध्य पार्ने सन्तानले पनि त्यस्तै वियोग भोग्न परोस् ।’
स्वर्गीय आमाबाबाको यादमा जहिल्यै ज्येष्ठ नागरिक आश्रममा गएर विताउने गर्दै आएको व्यास नगरपालिका वडा नं. ११ का ५२ बर्षीय श्रीराम पन्थले बताए। आमाबुबाको मृत्यु पछि याद गरेर तड्पिनु भन्दा जिवित छँदै सेवा र रेखदेख गर्न सबैमा सुझाव दिने गरेको पन्थको भनाई छ ।
‘‘बुबाआमा साथमा हुँदाको बखत भन्दा नहुँदाको यादले निकै तड्पाउने रहेछ’’, पन्थले भने ‘‘बुबाआमा कहाँ पाईएला र ? त्यसैले जिउँदो छँदैं माया र सम्मान गर्नुपर्छ ।’’
उक्त आश्रममा ७० बर्षीया ठूलीमाया परियार र ७२ बर्षीया विमला भट्टराई सहित दुई वेवारिसे आमा गरी चार जनाले आश्रय लिदैं आएका छन् । तीन बर्ष अघि श्रीमानको मृत्युभएपछि आफू आश्रममा आउन बाध्य हुनु परेको ७० बर्षीया मनमाया परियारले बताइन। सौतेनी छोराछोरीले तथानाम गरेपछि आफू आश्रममा आउन बाध्य हुनु परेको परियारको भनाई छ । भट्टराईले पनि आफ्ना ३ छोरा र छोरी भएपनि वास्ता नगर्दा आश्रममा बस्नु परेको पिढा पोखिन। आश्रममा बस्दै आउनुभएका अन्य दुई आमा भने वेवारिसे अवस्थामा भेटेर आश्रममा ल्याएर पालन पोषण गरिएको टिनुभएको संचालक समितिले जनाएको छ ।
‘‘छोराछोरीको साथमा बस्ने चाहना कसलाई पो नहुँदो होला र ?’’, भट्टराईले भनिन् ।‘‘जन्माएको छोराछोरीले दिनदिनै बचन लगाउने गरेपछि आश्रममा बस्नु नै ठिक ठाँनें ।’’
मातातिर्थ औंसीको दिन पारेर बुधबार आश्रममा रहेका आमाहरुलाई भेट्न आउनेहरुको संख्या करिव ३०/३५ जना रहेको वेदव्यास ज्येष्ठ नागरिक आश्रम संचालक समितिका कार्यवाहक अध्यक्ष सकुन्तला आलेले जानकारी दिइन् । आश्रमले मासिक २० हजार रुपैंयाँ दिई ज्येष्ठ नागरिकहरुको व्यवस्थापन गर्न सृजना श्रेष्ठलाई राखिएको समेत उनले बताइन।


























