प्रहार समाचार । तनहुँ, बैशाख १८ । तनहुँको व्यास नगरपालिकाले पृथ्वीराजमार्ग सडक मापदण्डभित्र परेका घर भत्काउन अटेरी गर्ने घर धनिहरुलाई सात दिन भित्र घर भत्काउन उल्टिमेटम दिएको छ ।

नगरपालिकाले यस अगाडी पनि पटक पटक सूचना मार्फत घरधनिहरुलाई घर भत्काउन आग्रह गरेकोमा अटेरी गरेपछि नगरपालिकाले सोमबार सात दिने अल्टिमेटम दिएको हो।
सूचनामा ‘ घर नभत्काउँदा बजार क्षेत्रको बाटो बिस्तार अवरुद्ध हुने , जनजीवनमा आक्रान्त पार्ने जनाइएको छ। सडक निर्माण कार्यको म्याद समाप्त भइसकेकोले थप भएको समयभित्र सडक निर्माण हुन नसकेमा आयोजनाको अवधि समाप्त भएपछि हाल प्राप्त क्षतिपूर्ति प्राप्त नहुने अवस्था समेत आउन सक्ने भएकाले सडक क्षेत्रका घरहरू नभत्काई अलमल गरिनु दमौली बजार र घरधनी स्वयं आफ्नै हितमा समेत नहुने हुँदा तत्काल सात दिनभित्र घर भत्काई सहयोग पुर्याइदिनुहुन सम्बन्धित सबैमा व्यास नगरपालिकाले अनुरोध गरेको छ। यसका साथै नगरपालिकाले घर भत्काउनेहरुले समेत नगरपालिकाबाट नक्सा स्वीकृति नलिई आफू खुसी सडक क्षेत्र २५ मिटर भित्र पुनः घर विस्तार गर्दा समेत क्षतिपूर्ति प्राप्त गर्ने अवस्थामा कटौती हुने तर्फ सचेत रहनसमेत सम्बन्धित सबैमा अनुरोध गरेको छ। अझै पनि सडक मपदण्डभित्र पर्ने मुअब्जा समेत लिइसकेका चालिस घर धनिहरुले घर नभत्काएपछि व्यास नगरपालिका नगरपालिका कडाईका साथ उत्रिएको छ। यस्तो छ व्या न पा को पत्र :

व्यास–२ का १९ र व्यास–३ का २१ घरधनीले सडक मापदण्डमा परेका २५ मिटर दायाँबाँयाका घर भत्काउने शर्तमा मुआब्जा बुझेका छन् ।
व्यास नगरपालिका वडा नं २,३ र ४ मा घर,मठमन्दिर र पाटी समेत गरी करिब ७५ वटा संरचना भत्किने मुग्लिन–पोखरा पूर्वी सडक सडक योजना पूर्वी खण्डले जनाएको छ ।
उक्त सडक खण्ड अन्र्तगत दमौलीको पूर्वमा बुल्दीखोला र पश्चिममा मादीनदी पुलसम्मको भागमा घर भत्काउन नगरपालिकाले सूचना जारी गरेको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । घर नभत्काउँदा बजार क्षेत्रको बिस्तार कार्य अवरुद्ध हुने,बाटो अवरुद्ध हुँदा धुलो, हिलो र प्रदुषणले जनजिवन समेत प्रभावित हुने नगर प्रमुख न्यौपाने द्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।


























