प्रहार समाचार । सोलुखुम्बु, बैशाख १२ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर खरानीमा परिणत भएको छ।
गाईखर्क सामुदायिक वनमा मङ्गलबार लागेको डढेलो डढेलो बस्तीमा छिर्दा पाँच घर जलेका जिल्ला प्रहरी कार्यालयलका प्रहरी निरीक्षक रामचन्द्र साहले बताए । आगलागीले स्थानीय धनेश्वर राई, केशव राई, शक्ति राई, धनशेर राई र कविर राईको एक-एक वटा घर आगोले जलेर खरानी भएको हो ।

आगलागीबाट रु ५३ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । धनेश्वर राई र निजका छोरा शक्ति राईको छुट्टाछुट्टै घर जल्दा उनीहरूको तीन तोला सुन, १५ तोला चाँदी नष्ट हुँदा रु २३ लाख, केशव राई र मकरबहादुर राईको नगद रु एक लाख ८० हजार नगदसहित अन्य सामग्री जल्दा रु २० लाख र कविर राईको घर र त्यहाँ रहेको सबै सामान जल्दा रु १० लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक साहले बताए।
घरमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, सोलु दुधकुण्ड नगरपालिकाको दमकल र नगर प्रहरीलगायत निकायको प्रयासमा आगो निभाइएको उनले बताए ।




















