प्रहार समाचार । पोखरा, बैशाख, ११ । सरकारले सहकारी समस्या समाधान गर्न ठोस कदम नचालेको भन्दै पोखराका सहकारीपीडित बचतकर्ता सडकमा उत्रिएर गृहमन्त्री रवि लामिछानेको राजिनामा माग गरेका छन् ।

कास्की सहकारी बचतपीडित संघर्ष समितिले पहिलो चरणको दबाब कार्यक्रमअन्तर्गत सोमबार पोखरामा र्याली गरेको हो । सहकारी ठगीमा संलग्नलाई राजनीतिक संरक्षण गरिएको भन्दै पीडितले नाराबाजी गरेका थिए ।
सहकारीपीडितले र्यालीमा नियामक निकाय पोखरा महानगरपालिका, सहकारी मन्त्रालयका साथै गृहमन्त्री रवि लामिछानेविरुद्ध पम्प्लेटसहित चर्को नाराबाजी गरेका थिए । अदालतमा मुद्दा परेका कास्कीका ६ सहकारीसहित अन्यसहकारीका बचतकर्ता पनि र्यालीमा सहभागी थिए । सर्वसाधारणको बचत अपचलन गर्ने सूर्यदर्शन, इमेज, मित्र मिलन, बलिदानी, शिवशिखर र विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ता संघर्ष समितिमा आबद्ध छन् ।
संघर्ष समितिका संयोजक किरण श्रेष्ठले गृहमन्त्री लामिछानेले राज्य कोषबाट निकासा गरेर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने भनेपनि त्यो नगरेको बताए ।
























