प्रहार समाचार । काठमाडौँ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको अवसरमा सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मंगलवार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । कतारका अमिर अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । दुई निजी जहाज लिएर आउन लागेका उनका साथमा आधा दर्जनभन्दा बढी मन्त्री हुने बताइएको छ ।
विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।कतारका अमिरले मंगलबार राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भने बुधबार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ । उनी बुधबार बेलुका नै कतार फर्कने छन्।
























