प्रहार समाचार । तनहुँ, बैशाख १० । चार वेद १८ पुराणका रचयिता भगवान वेदव्यासको पवित्र व्यास गुफा परिसर अगाडि रहेको मादी र सेती नदिकोको तटमा गंगा आरती गरिने भएको छ ।

व्यास गुफा परिसरमा स्वदेशी तथा विदेशी धार्मिक पर्यटकहरू धार्मिक पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यका साथ आगामी २०८२ सालको बैशाख १ गतेबाट सन्ध्याको गंगा आरती गर्ने उदेश्य लिईएको व्यास अन्न क्षेत्रका प्रमुख संरक्षक एवं शान्ति श्वरुपानन्द दामोदर बाबाले बताए ।
देशका प्रमुख धार्मिक तिर्थस्थलहरु पशुपतिनाथ मन्दिर परिसर , बाराही घाट लगायतका स्थानहरुमा सन्ध्याको गंगा आरती हुने र अत्यन्तै हेर्न लायक तथा मनमोहक देखिने गर्दछ। यसै प्रसङ्गमा तनहुँको व्यास नगरपालिकामा रहेको पवित्र व्यास गुफा परिसरको अगाडि मादी र सेती नदीको गंगा तटमा विशेष मञ्च बनाई साँझको सन्ध्या गंगा आरती गर्ने उदेश्य बमोजिम केहि भौतिक संरचना बनाउन लागिएको दामोदर बाबाले बताए । ‘सुरुबाट नै यो सोच थियो तर जग्गाको अभाबमा काम अगाडी बढाउन सकिएको थिएन,अब नदिको धार दक्षिणतिर गएकाले यताको भागमा तटबन्ध गरि सन्ध्याको बेला गंगा आरती गर्ने स्थाल बनाउन सुरु गरेका छौ एक वर्ष भित्र अवश्य पुरा हुने छ’। दामोदर बाबाले भने ।
गंगा आरतीकालागि मञ्च, भक्तजनहरु रहने स्थान तथा अन्य भौतिक संरचनाका अतिरिक्त नित्य सन्ध्या आरती गर्ने बटुक, सर सामाग्रीहरुको आवश्यकता पर्ने बताइन्छ ।
स्वदेशी तथा विदेशी धार्मिक पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यकासाथ सन्ध्या आरतीको व्यवस्था गर्न लागिएको शान्ति स्वरूपानन्द बाबाको भनाइ रहेको छ।
यस कार्यले जिल्लाका अतिरिक्त देशभरका धार्मिक पर्यटकहरूलाई आकर्षित गर्ने विश्वास दामोदर बाबाले लिएका छन्। यसमा सम्पूर्ण नागरिकहरुको साथ र सहयोग चाहिने पनि उनको भनाई रहेको छ।
सन्ध्याको गंगा आरती गर्न आर्थिक हिसाबले समेत खर्चिलो हुने भएतापनि स्थानीय सरकारको त्यसमा पनि व्यासकै नामबाट स्थापित व्यास नगरपालिकाको साथ र सहयोग मिल्ने विश्वास पनि दामोदर बाबाको रहेको छ।

व्यास भूमिको उचित प्रचारप्रसार गर्न सके स्वदेशी तथा विदेशी पर्यटकहरूको घुइँचो लाग्ने निश्चित देखिन्छ।जसका लागि वैज्ञानिक किसिमको गुरुयोजना बनाई संरचनाहरू निर्माण गर्ने र पर्यटकहरुलाई आकर्षित गर्ने कार्य गर्न सके यस क्षेत्रको गरिमा अझ बढ्ने व्यास गुफाका गोविन्द बाबाको विश्वास रहेको छ। देशका अन्य प्रमुख धार्मिक पर्यटकीय स्थानहरूमा सन्ध्या गंगा आरती भव्य रुपबाट हुँदै आएको परिप्रेक्षमा मादी र सेती नदीको पवित्र संगमस्थलमा हाल सम्म पनि सन्ध्या गंगा आरती हुन सकेको छैन ।

























