प्रहार समाचार । तनहुँ, बैशाख ८ । तनहुँको दमौलीमा रहेको पहिलो सामुदायिक रेडियो मादीसेती एफएम १०५.८ मेगाहर्जको दशौं साधारण सभा तथा पाँचौं अधिवेशन शनिबार दमौलीमा सम्पन्न भएको छ । उक्त अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठले २०७२ सालको भूकम्प तथा कोभिड पछिको लकडाउनपछि देशमा उत्पन्न आर्थिक मन्दिका कारण समग्र सञ्चार जगत धरासायी भएको बताउँदै संचार उद्योगलाई जोगाई राख्नु सबैको दायित्व रहेको बताए ।

कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले लोकतान्त्रिक व्यवस्थामा मात्रै सञ्चार जगत स्वतन्त्र हुने हुँदा सञ्चारजगतले आवाज विहीनहरूको आवाज बनेर अगाडि बढ्नुपर्ने बताए ।
एफएमका अध्यक्ष सरिता गुरुङको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनले सूर्यनाथ खनालको अध्यक्षतामा नौ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
समितिको उपाध्यक्षमा प्रदिप घिमिरे , सचिवमा माधव न्यौपाने र कोषाध्यक्षमा सुशीला पन्थ चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा प्रहार अनलाइन मिडियाका अध्यक्ष एवं सम्पादक शंकरराज नहर्की ,जनक काफ्ले , उपेन्द्र न्यौपाने , सुरेश पुरी र बेलु श्रेष्ठ रहेका निर्वाचन समितिका संयोजक डम्बरदेव हड्खलेले बताए ।
नवनिर्वाचित अध्यक्ष सूर्यनाथ खनालले आफ्नो कार्यकालमा सबैको साथ र सहयोग लिएर एफएमलाई थप उचाइमा पुऱ्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

























