प्रहार समाचार । काठमाडौँ, चैत २८ । आज राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि निर्वाचन हुँदै हुने भएको छ । त्यसका लागि राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि सत्ता गठबन्धन दलका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र प्रतिपक्षी दलका तर्फबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी उम्मेदवार छन् ।

आजको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायण दाहालले दुवै उम्मेदवारका प्रस्तावकहरुलाई पालैपालो निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न दिनेछन् । एमालेकी घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव भगवती न्यौपानेले र कांग्रेसकी पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव दुर्गा गुरुङले प्रस्तुत गर्नेछन् । त्यसपछि अध्यक्ष दाहालले दुवै प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । जुन प्रस्ताव बहुमतलेपारित हुन्छ, त्यही निर्वाचित हुने सचिवालयले जनाएको छ ।
सत्ता गठबन्धनसँग बहमुत भएकाले राष्ट्रिय सभा उपाध्यक्ष पदमा कपिलवस्तुकी घिमिरे निर्वाचित हुने पक्काजस्तै भएको छ ।




















