प्रहार समाचार । कास्की, चैत २५ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनियताको शपथ गराएका हुन् । अधिकारीले सपथ लिएसँगै नेपाली कांग्रेसले असहमति जनाएको छ।

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको हस्तक्षर् सहित प्रदेश प्रमुख भट्टलाई बुझाइएको ज्ञापनपत्रमा अर्कै प्रयोजनको लागी लिइएको हस्तक्षरको दुरुपयोग गर्दै मुख्य मन्त्री नियुक्त गर्ने कार्य आधिकारिक मान्न नसकिने भएकोले मुख्य मन्त्री नियुक्ति प्रक्रिया अगाडी नबढाउन माग समेत गरिएको छ।
मुख्यमन्त्रीसँगै माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दिपक मनाङेले पनि मन्त्रीको शपथ लिएका छन् ।
यसअघि मुख्यमन्त्री रहेका कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले चैत २१ गते राजीनामा गरेका थिए। सोही दिन प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठन गर्न २ वा २ भन्दा बढी दलको बहुमतसहित मुख्यमन्त्रीमा दाबीका लागि आह्वान गरेका थिए।
























