प्रहार समाचार । काठमाडौँ, फागुन २० आइतवार । कप्तान रोहित पौडेलको कप्तानीमा आगामी साता हङकङमा हुने त्रिदेशीय टी–२० क्रिकेट श्रृंखला खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।नेपाल क्रिकेट संघ (क्यान)ले आइतवार नियमित कप्तान रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । केही खेलाडीलाई विश्राम दिएर नयाँलाई अवसर दिँदै टोली घोषणा गरिएको पाइएको छ ।
टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीय जोरा, आरिफ शेख, विवेक यादव, रासिद खान , करण केसी , सागर ढकाल, प्रतिश जीसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोराले पनि टोलीमा अवसर पाएका छन् । उक्त श्रृंखलाका खेलहरू फागुन २६ देखि ३० गतेसम्म हङकङमा हुनेछन् । श्रृंखलामा नेपालसहित आयोजक हङकङ र पपुवा न्यू गिनी (पीएनजी) सहभागी हुनेछन् ।

नेपालले फागुन २६ मा हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि श्रृंखलाका खेलहरू हुनेछन् । जसअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग फागुन २७ र दोस्रो खेल पीएनजीसँग फागुन २९ गते खेल्नेछ । फाइनल खेल फागुन ३० गते हुने छ । नेपाली टोली अहिले घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग त्रिदेशीय श्रृंखला खेलिरहेको छ ।
























