प्रहार समाचार । काठमाडौँ , माघ १ सोमबार । मेलम्चीको पानी आजदेखि पुन: काठमाडौं उपत्यकाका धारामा वितरण शुरू गरिएको छ । मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण ७ महिनाअघि बन्द मेलम्चीको पानी आजदेखि पुन: वितरण शुरू गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा रहेको धारा खोलेर मेलम्चीको खानेपानी पुनर्वितरणको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्रले ‘आयोजनाको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाईआयोजनाको पुनर्निर्माणको कार्य कार्यान्वयन गरिने बताए । हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि बाह्रै महिना सञ्चालन गर्नेगरी व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई मैले निर्देशन दिएको’ जानकारी दिए ।

खानेपानी मन्त्रालयका अनुसार आज मीनभवन र अनामनगर क्षेत्रमा पानी वितरण गरिने छ । क्रमिक रूपमाखुमलटार, बालाजुलगायत क्षेत्रका खानेपानी भण्डारण केन्द्रमा पानी भरेर वितरण गरिने मन्त्रालयले जनाएको छ ।

आयोजनाको मुहान स्थलबाट पुस २५ गते नै हेडवर्क्समा पानी पथान्तरण गरिएको थियो । पानी सुन्दरीजल आइसकेको छ । सुन्दरीजल प्रशोधन केन्द्रबाट काठमाडौंमा रहेका विभिन्न भण्डार केन्द्रका लागि पानी छोडिनेछ।२८ दिनभित्र काठमाडौं उपत्यकामा पानी वितरण गर्ने गरी मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणका लागि खानेपानी मन्त्रालय र चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोबिच पुस ३ गते राति समझदारीपत्रमा हस्ताक्षर भएको थियो।


























