प्रहार समाचार । तनहुँ, पुस ७ शनिबार । तनहुँको व्यास नगरपालिका वडा नम्बर १ मा रहेको आदिकवि भानुभक्त क्याम्पसमा पानीको हाहाकार भएपछि डिप बोरिङ कार्यको सिलन्यास संगै बोरिङ गर्ने कार्य सञ्चालन गरिएको छ।
शनिबार क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले डीप बोरिङ कार्यको सिलान्यास गर्दै क्याम्पसमा पानीको समस्या समाधान गर्न डीप बोरिङले मद्दत गर्ने बताए ।

गण्डकी भूमिगत सिंचाई तथा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश पोखराको क्रमागत बजेट अन्तरगत प्राप्त १८ लाख रुपैयाँ बजेटबाट उक्त डीप बोरिङग कार्य सञ्चालन गरिएको क्याम्पसले जनाएको छ ।

क्याम्पसको हाताभित्र प्रविधिक टोलिको अध्यायन पछि सिफारिस गरिएको स्थानमा बोरिङ कार्य सुरु गरिएको र सफल भएको खण्डमा क्याम्पसमा पानीको सहज आपूर्ति तथा क्याम्पस हाताभित्र रहेको बोटानिकल गार्डेन, वृक्षारोपण, फुलबारी,सहित चन्द्र नेपाली छात्रावासको फुलबारी सिंचाई तथा सरसफाई र पिउने पानी लगायतमा सहजता हुने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।

पानीको अभामा क्याम्पसका झण्डै तीनहजार विद्यार्थी, कर्मचारी लगायतले असुविधा भोग्नु परेकोले सफल भएको खण्डमा क्याम्पस वरपर तथा छिमेकी निर्मल माध्यामिक विद्यालयलाई समेत पानीको आपूर्ति गर्न सकिने निर्मण समितिका अध्यक्ष सहविर उच्चाईले बताए ।

डीप बोरिङको काम गण्डकी डिलिङ एन्ड कन्स्ट्रक्सन प्राली पोखराले सञ्चालन गरेको र सुरुमा पानीको भूमिगत परीक्षणगरी त्यसैका आधारमा डीप बोरिङ आयोजना अगाडि बढाइने कम्पनीका प्रमुख सरोज खनालले प्रहार समाचार लाई बताए ।
























