प्रहार समाचार । काठमाडौँ, पुस ६ शुक्रबार । प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महाजात्रा’को छायांकन सकिएको छ । चलचित्र निर्माता म्याक्स दीपेश खत्री अब आफूहरूको तयारी प्रचारप्रसार र रिलिजमा हुने बताउँछन् ।
चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलतापश्चात षट्कोण आर्ट्सको ब्यानरमा तेस्रो श्रृङखला ‘महाजात्रा’ निर्माण गरिएको हो । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई फिल्ममा रोचक रुपले प्रस्तुत गरिएको छ ।

यस चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ । म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेन्मेन्टले खरिद गरिसकेको छ ।

फिल्म आगामी चैत ९ गतेबाट नेपालसँगै विश्वभर एकसाथ प्रदर्शनमा आउने निर्माणपक्षले जनाएको छ । निर्माण घोषणादेखि नै फिल्मलाई प्रतीक्षित रुपमा हेरिएको छ ।
























