प्रहार समाचार । काठमाडौं, पुस ४ बुधबार ।
सरकारले काठमाडौंका मुख्य २ वटा ठाउँलाई आगामी २ महिनासम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बुधबार सूचना जारी गर्दै शीतल निवासदेखि बालुवाटारसम्मका २ ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको हो । ती २ ठाउँमा राष्ट्रपति कार्यालय (शीतल निवास- महाराजगञ्ज) र प्रधानमन्त्री निवास (बालुवाटार) क्षेत्र छन् ।

राष्ट्रपति कार्यालयमा पूर्व पुरानो पवित्र वर्कशप चौक, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेट र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र तोकिएको छ ।

यस्तै प्रधानमन्त्री निवास, बालुवाटारमा पुरानो पवित्र वर्कसप चौकबाट रसियन दूतावास हुँदै इटालिया चोक, सभामुख निवासदेखि गैरीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटर, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिम र राष्ट्र बैंक चोकबाट पूर्वतर्फ १०० मिटर, इटालिया चोकबाट ५० मिटर दक्षिणसम्म निषेधित क्षेत्र तोकिएको हो ।

‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौंले २ वटा क्षेत्रलाई आगामी २ महिनासम्मका लागि निषेधित क्षेत्र तोकिएको छ,’ प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जारी गरेको सूचनामा भनिएको छ ।

यी क्षेत्रमा २ महिनासम्म ५ जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको सूचनामा उल्लेख छ ।
























