प्रहार समाचार | कास्की, मंसिर २६ मंगलबार । प्रहरीले पोखरा महानगरभित्र रहेका खोलानालाबाट ढुंगा, गिटी र बालुवा अबैध रुपमा तस्करी गरेका सवारी साधन हरुलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले खोलाहरूबाट तस्करी गरिरहेका अवस्थामा विशेष अपरेसनमार्फत् ५६ वटा सवारी साधनहरू नियन्त्रण गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले बताए। खोलानालाबाट ढुङा, गिटी र बालुवाको चोरी निकासी भएको सुराकीको आधारमा ती सवारी साधन नियन्त्रणमा लिन प्रही सफल भएको हो।

पोखरा महानगरभित्र रहेका घाटहरूमा गत वर्षदेखि नै ठेक्का लाग्न सकेको छैन। घाटहरूमा थुप्रिएका ढुंगा, गिटी र बालुवाको ठेक्का नलागे पनि गत वर्षदेखि नै अवैध उत्खनन् भने जारी नै रहेको छ । अवैध उत्खनन् रोक्न प्रहरीले विशेष अभियान नै चलाएको एसपी थापाले बताए।

पोखराका कुनै पनि नदीनालाबाट अवैध उत्खनन् हुन दिन्नौं,’ उनले भने, ‘अब नियमित निगरानी गर्छौं।’ नियन्त्रणमा लिइएका ट्रक, टिपर, ट्र्याक्टरलगायत सवारीले ढुंगा, गिटी, बालुवालगायत नदीजन्य पदार्थ उत्खनन् गर्ने अनुमति नपाएको, भ्याटबिल नभएको र नक्कली बिल बनाएर ओसारपसार गरेको पाइएको प्रहरीले बताएको छ। पोखरा महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले कानुनबमोजिम चलेका सवारी साधनलाई छाडेको र बाँकीलाई कारबाही प्रक्रियामा लैजाने बताए ।
























