प्रहार समाचार । काठमाडौँ, मंसिर २४ आईतबार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली सर्टिफिकेट बनाएको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार उनको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै छानबिन गरी कारबाही गर्नका लागि आयोगमा उजुरी परेको थियो ।
अनुसन्धानका क्रममा बस्नेतले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेश गरी विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिई बढुवासमेत भई पुष्टि भएको थियो ।
नक्कली प्रमाणपत्रका आधारमा अनुसन्धान अधिकृत पदको ओहदा, लाभ र सुविधा प्राप्त गरी भ्रष्टाचार गरेकाले उनीविरुद्ध कैद र जरिवाना दुवै सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
























