१) सम्झिएर ~ मेरा दु:ख, पेट पोल्ने नत कोइछन्
साँझपख घर आउँदा, ढोका खोल्ने नत कोइछन्,
कोइ भएन साथ दिने, आफ्ना समेत पराई किन ?
मनले दुहाई माग्दा यहाँ, सोझो बोल्ने नत कोइछन् ।
२) सकिन्न हिंडिरहेको बाटो, कसरी मोड्न सकिन्छ
नाता सम्बन्ध मातृभूमिको, कसरी तोड्न सकिन्छ,
सहज होला निजी सम्पत्ति, बरु प्राण आहुति दिन
राष्ट्र राष्ट्रियता थातथलो, कसरी छोड्न सकिन्छ ?
३) फुल्छस् ढकमक फूल, झर्छस् तँ केका लागि ?
सुमधुर ~ सुवास हररर, छर्छस् तँ केका लागि?
म फुल्छु ~ मुस्कुराउँछु, यो मेरो नित्य कर्म हो,
हे मौसम तुच्छ गडगड, द्वेष गर्छस् तँ केका लागि ?
४)मूल्य आकाशिन्छ, वस्तुको माग बढेपछि
सम्बन्ध ~टाढिन्छ, दोहोरो राग बढेपछि,
काटेको घाउ छिट्टै, निको हुन सक्ला बरु
गाह्रो पर्छ, आत्म सम्मानमा दाग बढेपछि ।
– व्यास -१, भादगाउँ, तनहुँ ।
























