प्रहार समाचार । तनहुँ, कात्तिक २६ आईतबार ।
आफ्नै भवन नभएपछि तनहुँका दृष्टिविहिनहरु तिहारको मौका छोपी यतिबेला भवन बनाउन देउसी भैलोमा जुटेका छन् । नेपाल नेत्रहिन संघ तनहुँका अध्यक्ष चिनबहादुर कुमाल तिहारको मौका छोपी १५/ २० जना दृष्टि विहिनहरुलाई साथमा लिएर देउसी भैलोमा जुटेका हुन्। भवन अभावमा कार्यालय समेत स्थापना गर्न समस्या भएपछि थोरै भएपनि सहयोग हुने भएकाले देउसी भैलो खेल्न निस्किएको कुमाल बताउँछन्।
उनि भन्छन्-“हामी व्यास नगरपालिकाका विभिन्न वडाहरुमा देउसी भैलो खेल्दै रकम संकलन कार्यमा जुटेका छौ, भवन नहुंदा सारै दुख भएको छ उठेको रकमले आफ्नै भवन बनाउन थोरै भएपनि सहयोग होला भनेर यो अभियानमा जुटेका छौ, सबैको साथ र सहयोग अवश्य मिल्ने छ ” ।
नेत्रहिन संघ तनहुँका सचिव विराजमान कुमाल सकेसम्म नगरपालिकाका सबै वडामा जाने योजना रहेको बताउँछन्। उनि भन्छन् “आज हामी व्यास १४ को केशवटार र व्यास १३ को पोखरी भञ्ज्याङमा जाँदै छौ, जे जति रकम उठ्छ भवन निर्माणमा खर्चिन्छौँ ।” भवन निर्माणमाका लागि व्यासनगरपालिका वडा नम्बर ५ निवासी समाजसेवी केबी गुरुङले नेत्रहीन संघलाई २५ देखि ३० लाख मूल्य पर्ने चार आना घडेरी उपलब्ध गराइदिएका छन् । उनले हालै जिल्ला मालपोत कार्यालयमा नेत्रहीन सँगैलाई उक्त घडेरी राजीनामा पास गरेर दिएका थिए । जग्गा अभावमा भवन बनाउन समस्या परेको थाहा पाएपछि आफूले जग्गा उपलब्ध गराएको समाजसेवी गुरुङको भनाई छ ।
“हामी यो भवन बनाउन रात दिन नभनी देउसी भैलोमा छौँ, यो भवन सबैको भवन हो भन्ने बनाउन पनि देउसी भैलोमा सबैको साथको अपेक्षा गरेका छौँ “- दृष्टिबिहिन कलाकार रूपा थापा मगरले बताइन् ।




















