प्रहार समाचार । काठमाडौं, कार्तिक २५ शनिबार ।
भूकम्पका कारण कर्णालीमा दुई अर्बभन्दा बढीको आर्थिक क्षति भएको छ। यही कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण कर्णालीमा २ अर्ब २४ करोडबराबरको आर्थिक क्षति भएको प्रदेश सरकारले जनाएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा जाजरकोट र रुकुमपश्चिममा यो क्षति भएको उल्लेख छ।
भूकम्पका कारण भएको क्षतिको विवरण संकलन हुने क्रम जारी नै रहेको भन्दै मन्त्रालयले शुक्रबारसम्मको तथ्यांकअनुसार प्रभावित जिल्लामा २ अर्ब २४ करोड रूपैयाँबराबरको आर्थिक नोक्सान भएको अनुमान गरेको हो। जाजरकोट र रुकुमपश्चिममा १५४ जनाको ज्यान गएको भूकम्पमा ठूलो भौतिक क्षति भएको छ ।
मन्त्रालयका अधिकृत कृष्णबहादुर रोकायाका अनुसार भूकम्पका कारण सबैभन्दा क्षति जाजरकोट र रुकुमपश्चिममा भएको छ। भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम,सल्यान, जुम्ला र दैलेखमा गरी १३ हजार १ सय २४ वटा घर पूर्णरूपमा क्षति भएका छन्। ११ हजार १ सय ९३ वटा घरमा आंशिक क्षति पुगेको छ।
जस अनुसार जाजरकोटमा ९ हजार ७ सय ९४ वटा घरहरू पूर्णरूपमा ध्वस्त भएका छन्। यस्तै, त्यहाँ २४ हजार ७ सय ७ वटाघरहरूमा आंशिक क्षति पुगेको छ। त्यसैगरी रुकुमपश्चिममा ३ हजार १ सय ७४ वटा घरहरू पूर्णरूपमा क्षति भएका , ८ हजार ३ सय ५८ घरमा आंशिक क्षति पुगेको, ३ सय ७२ जना घाइते भएको मन्त्रालयको तत्थ्याङ्कमा उल्लेख छ ।
यस्तै, भूकम्पका कारण १ सय ६ वटा विद्यालयमा क्षति पुगेको छ भने १७ वटा विद्यालयहरू पूर्णरूपमा भत्किएका छन्। ८९ वटा विद्यालयहरूमा आंशिक क्षति पुगेको , ३१ वटा सरकारी कार्यालयका भवनहरूमा आम्सिक , ६ वटा सरकारी कार्यालयहरू पूर्णरूपमा भत्किएका छन् भने २५ वटा कार्यालयका भवनहरूमा आंशिक क्षति पुगेको छ । भूकम्पका कारण प्रभावित भएका जिल्लाहरूमा १३ हजार नागरिक विस्थापित भएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार घरबारविहीन बनेपछि १३ हजार १ सय २४ जना नागरिक विस्थापित भएका हुन्। उनीहरू हाल त्रिपालको सहारामा रहेको मन्त्रालयको भनाइ छ।
























