गण्डकीसाहित्य

कविता : निधार

उडेका चराहरुको कैद सपना लेख्न सक्छ
लेख्न सक्छ एउटा मान्द्रोको बिम्बमा निधार
ऊ आफ्नै प्रेयसीको केशलाई
तरुनी पहाडको झरनासँग तुलना गर्नसक्छ।

उधारेर जिन्दगीको छाती
मुटुलाई पत्थर लेख्न सक्छ ऊ
या लेखिदिन सक्छ पत्थरको पनि मुटु,
मायालाई घाउ लेखिदिन सक्छ,
घाउलाई माया लेखिदिन सक्छ।

कहिल्यै नबसेको चौतारोलाई
कहिल्यै नतरेको नदीलाई
कहिल्यै नदेखेको भगवानलाई
कहिल्यै नभोगेको दु:खलाई लेखिदिन सक्छ ऊ।

तिमीलाई नछोएर पनि
लेखिदिन सक्छ तिम्रो ओठको स्पर्श
तिमीलाई नहेरेर पनि
बयान गर्न सक्छ तिम्रो सौन्दर्य।

ऊ लेखिदिन सक्छ
तिमीले नै नदेखेको तिम्रो कुरा
आफैले नदेखेको आफ्नो बुढ्यौली
लासको पनि जिन्दगी लेखिदिन सक्छ
अफसोस
तिम्रो कवि
यी सब कुरा लेखेर पनि
आफ्नो निधार लेख्न कहिल्यै सक्दैन।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button