शिक्षाहेडलाईनसमाचारगण्डकी

विद्यालयको खस्कँदो शैक्षिक गुणस्तर सुधार्न गोरखाको पालुङटारको पहल : शिक्षकदेखि अभिभावकसम्मलाई एउटै मञ्चमा उभ्याइयो

प्रहार समाचार । गोरखा, १९ कात्तिक २०८३ बिहीबार । पालुङटार नगरपालिकाभित्रको शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यसहित शिक्षक, विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रका सरोकारवालालाई एउटै मञ्चमा उभ्याएर अन्तरक्रियात्मक नगरपालिकास्तरीय विद्यालय कार्यक्रम–२०८३ सम्पन्न गरिएको छ।

“विद्यालयको आवश्यकता, नगरपालिकाको प्रतिबद्धता, गुणस्तरीय शिक्षाका लागि सबैको साझा सहभागिता” भन्ने मूल नारासहित नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको कार्यक्रम पालुङटार–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा सम्पन्न भएको हो। कार्यक्रमले विद्यालयका वास्तविक समस्या पहिचान गरी शैक्षिक सुधारका लागि जिम्मेवारी र जवाफदेहिताको विषयलाई केन्द्रमा ल्याएको छ।

कार्यक्रममा नगरप्रमुख विवस चिन्तनले शैक्षिक गुणस्तर सुधार भाषण र प्रतिबद्धताले मात्र सम्भव नहुने उल्लेख गर्दै नगरपालिका, विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकबीच प्रभावकारी समन्वय तथा साझा जिम्मेवारी आवश्यक रहेको बताए। विद्यालयको वास्तविक आवश्यकता पहिचान गरेर गुणस्तरीय, व्यावहारिक र नतिजामुखी शिक्षाको विकासमा नगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो।

त्यस्तै, नगर उपप्रमुख वन्दना पाण्डेले शैक्षिक सुधारका लागि सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै विद्यार्थीको सिकाइ उपलब्धि, विद्यालयको शैक्षिक वातावरण र शिक्षाको समग्र गुणस्तर अभिवृद्धिमा जोड दिइन्।कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाबीच विद्यालयका आवश्यकता, विद्यमान शैक्षिक अवस्था, चुनौती र सुधारका सम्भावित उपायबारे छलफल गरिएको थियो।

विद्यालयका समस्या पहिचान गर्ने तर समाधान कार्यान्वयन नगर्ने पुरानै प्रवृत्तिलाई अन्त्य गर्दै छलफलबाट निस्किएका निष्कर्षलाई नीति, योजना र व्यवहारमा उतार्नु नै कार्यक्रमको वास्तविक उपलब्धि हुने देखिन्छ। पालुङटार नगरपालिकाले सबै पक्षको साझा प्रयासबाट गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने लक्ष्य राखे पनि यसको सफलता भाषणमा होइन, विद्यालयको सिकाइ उपलब्धि र विद्यार्थीको नतिजामा देखिनुपर्ने चुनौती छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button