गण्डकीसाहित्य

प्रहार साहित्य : कविता ‘पहिचानको खोजि’

लेखि देऊ
मेरो पहिचान
म यही माटोको मान्छे हुँ।
मेरा हातमा श्रमका ठेला छन्
मेरा आँखाभरि सपनाका गाउँ छन्
म छातीभित्र
इतिहास बोकेर
उभिएको मान्छे हुँ।
म सँग
महल छैन
सुनका गहना छैन
हिराका खानी छैन
एउटा सानो घरको सम्झना छ।


आमाको ममताले भिजेको
आँगन छ।
बुबाको पसिनाले सिञ्चित खेत छ।
पुर्खाका पाइतालाले कोरेको बाटो छ।
र
यही माटोको छातीमा
आफ्नो अस्तित्व खोजिरहने
एउटा अविराम यात्रा छ।
मेरो आवाज नसुनिएपनि
मेरो मौनताभित्र इतिहास बोल्छ।
मेरा पाइला रोकिए पनि
मेरा सपनाले बाटो खोज्छन्।
तिमीले मेरो नाम मेटाउन सक्छौ।
मेरो परिचयका अक्षर च्यात्न सक्छौ
तर!
भन कसरी मेटाउँछौ सम्झना
जसको जरा
गहिरिएर गाडिएको छ,मेरो मुटुभित्र,
मेरो माटोभित्र
मेरो पुस्तौँपुस्ताको इतिहासभित्र
म दयाको याचक होइन।
म अधिकारको खोजीमा छु।


म कसैको कृपाले बाँचेको मान्छे होइन।
आफ्नै श्रमले उभिएको मान्छे हुँ।
म पराइको भूमिमा उभिएर
आफ्नो परिचय मागिरहेको छैन।
म त आफ्नै आँगनमा उभिएर
आफ्नो अस्तित्वको
साक्षी दिइरहेको छु।
मेरो परिचय
कुनै कागजमा कोरिएका
अक्षरहरूमा मात्र छैन।
यो त
आमाले बोल्ने भाषामा छ।
खेतका आली र गराका डिलमा छ।
वनपाखा र चौतारीका कथामा छ।
पसिनाले भिजेका हातहरूमा छ।
पुर्खाले छोडेका पाइलाहरूमा छ।
र
अन्यायका अगाडि
कहिल्यै नझुकेको मेरो शिरमा छ।
लेखिदेऊ मेरो पहिचान
म यही माटोको मान्छे हुँ।
मसँग मेरा आँखाहरु छन।
जसले स्वतन्त्रताको सपना देख्छ।
म भित्र आत्मसम्मान छ।
जसले अपमान स्वीकार गर्दैन।
म भित्र विश्वास छ।


जस्ले अँध्यारो चिरेर
उज्यालोको खोजिरहन्छ।
तिमी मेरो बाटो छेक्न सक्छौ।
मेरो आवाज दबाउन सक्छौ।
मेरो घरको ढोका बन्द गर्न सक्छौ।
मेरा सपनामाथि पर्खाल उठाउन सक्छौ
तर सुन
मेरो आत्मसम्मानलाई
कुनै साङ्लोले बाँध्न सक्ने छैनौं।
मेरो चेतनालाई
कुनै सीमाभित्र कैद गर्न सक्नेछैनौं।
मेरो अस्तित्वलाई
कुनै आदेशले मेटाउन सक्नेछैनौ।
किनकि
म केवल एउटा नाम मात्रै होइन।
एउटा अनुहार मात्रै होइन।
कुनै परिचयपत्रको
निर्जीव अक्षर होइन।
म आफ्नो माटोको स्मृति हुँ।
आफ्नो इतिहासको निरन्तरता हुँ।
यो समयको साक्षी हुँ।
पुर्खाका सपनाको उत्तराधिकारी हुँ।
आफ्नो भविष्यको बाटो
आफैँ कोर्ने
एउटा स्वाभिमानी मान्छे हुँ।
त्यसैले
फेरि लेखिदेऊ मेरो पहिचान
म यही माटोको मान्छे हुँ।


मेरो हातमा श्रमको शक्ति छ
मेरो आँखामा स्वतन्त्रताको सपना छ
मेरो छातीमा आत्मसम्मानको आगो छ।
र
मेरो प्रत्येक धड्कनमा
आफ्नो अस्तित्व जोगाइरहने
एउटा अटल प्रतिज्ञा छ।
म मेटिने नाम होइन।
म हराउने इतिहास होइन।
म झुक्ने स्वाभिमान होइन।
म त आफ्नै माटोमा
जरा गाडेर
आँधीसँग जुधिरहने वृक्ष हुँ।
अँध्यारोसँग लडिरहने दीप हुँ।
र
आफ्नो पहिचानका लागि
अन्तिम सम्म उभिरहने
ज्युँदो मान्छे हुँ।
•आकाश अधिकारी
तनहुँ, नेपाल । १५ कात्तिक २०८३

य

म



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button