हेडलाईनसमाचारकर्णाली

सुरुङ खनेर डोल्पा कारागारबाट ८ कैदीबन्दी फरार, सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न

• विजय अधिकारी (संवाददाता) डोल्पा, १४ कात्तिक २०८३ शनिबार । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारभित्रबाट सुरुङ खनेर ८ जना कैदीबन्दी शुक्रबार राति फरार भएका छन् । तस्बिर: प्रतिकात्मक एआई

फरार हुनेमा रुकुमपश्चिम, डोल्पा, सल्यान र जाजरकोटका विभिन्न स्थानका कैदीबन्दी रहेका छन् । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीसहितको प्रहरी टोली कारागार पुगेको थियो । प्रहरी नायब उपरीक्षक गिरीका अनुसार कैदीबन्दीले ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर फरार भएका हुन् । घटनाको विस्तृत अनुसन्धान र स्थलगत निरीक्षणपछि मात्रै फरार भएको घटनाको थप विवरण यकिन हुने प्रहरीले जनाएको छ । कारागारभित्रै यति लामो सुरुङ खन्ने र आठ जना कैदीबन्दी एकैपटक फरार हुने घटनाले कारागार प्रशासनको निगरानी, सुरक्षा सतर्कता र जिम्मेवारीमाथि गम्भीर आशंका जन्माएको छ ।

कैदीबन्दीको गतिविधि लामो समयसम्म कसरी निगरानीबाहिर रह्यो भन्ने प्रश्न झन् पेचिलो बनेको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले घटनाको पुष्टि गर्दै प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख घटनास्थल पुगेको बताएका छन् । कारागारभित्रै सुरुङ खनेर कैदीबन्दी भाग्न सक्ने अवस्था सिर्जना हुनु सामान्य लापरबाहीको विषय होइन, यो राज्यको सुरक्षा संयन्त्रमाथिकै गम्भीर चुनौती हो । घटनाको निष्पक्ष छानबिन गरी सुरक्षा कमजोरी पहिचान र जिम्मेवार पक्षमाथि जवाफदेहिता सुनिश्चित गर्नु अपरिहार्य देखिएको छ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button