• विजय अधिकारी (संवाददाता) लमजुङ, १४ कात्तिक २०८३ शनिबार । लमजुङ सदरमुकाम बेसीसहरसहित जिल्लाका अधिकांश भूभागमा शुक्रबार साँझदेखि निरन्तर परिरहेको अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ।

वर्षाले सबैभन्दा बढी मारमा किसान परेका छन्। खेतमा धान पाकेर पहेँलपुर भएको र काटेर भित्र्याउने तयारी भइरहेका बेला सुरु भएको वर्षाले खेतमै धान ढल्ने, बोटमै दाना कुहिने तथा उम्रिने जोखिम बढाएको छ। अहिलेसम्म अधिकांश किसानले धान नकाटेकाले सम्भावित क्षतिबाट जोगिने आशा रहे पनि लामो समयको मेहनत र लगानी खेर जाने चिन्ताले किसानलाई पिरोलेको छ।मौसम पूर्वानुमानअनुसार वर्षा अझै केही समय जारी रहने सम्भावना रहेकाले किसानहरू मौसम सफा नभएसम्म धान काट्न सक्ने अवस्थामा छैनन्।

एकातिर पाकेको बाली खेतमै थन्किएको छ भने अर्कोतिर निरन्तरको झरीले अन्नबालीमा क्षति पुर्याउने जोखिम बढाएको छ। यसले जिल्लाका हजारौँ किसानलाई अन्योल र तनावमा पारेको छ। बाढी तथा पहिरोको जोखिमसमेत बढ्दै गएकाले नदी किनार र भिरालो जमिन आसपास बसोबास गर्ने नागरिकलाई थप सतर्क रहनुपर्ने अवस्था सिर्जना भएको छ।यसैबीच, जिल्ला प्रशासन कार्यालय लमजुङले सम्भावित बाढीपहिरोबाट जोगिन नदी तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
वर्षाका कारण ग्रामीण कच्ची सडक हिलाम्मे र चिप्लो बनेकाले बेसीसहर–चामे सडकखण्डसहित जिल्लाका अन्य सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ। प्रकृतिको प्रहारले किसानको पाकेको बालीदेखि नागरिकको दैनिक आवागमनसम्म प्रभावित भइरहेका बेला जोखिमलाई सामान्य ठानेर लापरबाही गर्नु थप विपद् निम्त्याउनु हो।

















