• विजय अधिकारी (संवाददाता) लमजुङ, ११ कात्तिक २०८३ बुधबार । लमजुडको सुन्दरबजार नगरपालिका–७, पाउँदीमा लागुऔषध सेवन गरी अटो चलाएको आरोपमा एक चालकलाई प्रहरीले पक्राउ गरेको छ।

सवारीसाधन चलाउँदा यात्रु तथा अन्य सडक प्रयोगकर्ताको ज्यान जोखिममा पार्ने गतिविधिविरुद्ध प्रहरीले गरेको आकस्मिक जाँचका क्रममा चालक लागुऔषध सेवन गरेको अवस्थामा फेला परेका हुन्।प्रहरी चौकी पाउँदी र अस्थायी ट्राफिक प्रहरी पोस्ट पाउँदीबाट खटिएको प्रहरी टोलीले संयुक्त रूपमा जाँच गर्ने क्रममा अटो चालकको गतिविधि शंकास्पद देखिएपछि ‘लापसे किट’ प्रयोग गरी परीक्षण गरेको थियो।
परीक्षणका क्रममा चालकले लागुऔषध सेवन गरेर सवारी चलाएको पुष्टि भएको प्रहरीले जनाएको छ।लागुऔषध सेवन गरी सवारी चलाउनु आफैँको मात्र नभई यात्रु र सडकमा हिँड्ने अन्य नागरिकको ज्यानसमेत जोखिममा पार्ने गम्भीर लापरबाही हो। परीक्षणपछि पक्राउ परेका चालकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भोटेओडार पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















