आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

तनहुँमा प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ

प्रहार समाचार । तनहुँ, २७ असोज २०८३ मंगलबार । तनहुँको आँबुखैरेनीस्थित बेनिटारमा प्रहरीले ५ सय ७० ट्याब्लेट प्रतिबन्धित लागुऔषध नाइट्राजेपाम सहित एक जनालाई पक्राउ गरेको छ।

तालिमप्राप्त कुकुरसहित खटिएको प्रहरी टोलीले पृथ्वीराजमार्गमा यात्रुवाहक बस जाँच गर्ने क्रममा लागुऔषध फेला पारेपछि नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१२ का ४० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार हिंजो मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार ती पुरुषले लुकाइछिपाइ ल्याएको अवस्थामा प्रतिबन्धित लागुऔषध बरामद गरिएको हो। गण्डकी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखा पोखरा, जिल्ला प्रहरी कार्यालय तनहुँ र मातहतका प्रहरी इकाइको संयुक्त टोलीले तालिमप्राप्त कुकुरको सहायतामा जाँच गर्ने क्रममा लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिबाट प्राप्त सूचनाका आधारमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ घर भएका ४६ वर्षीय अर्का पुरुषलाई गोरखा नगरपालिका–११, बाह्रकिलोबाट प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिएका छन्।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button