समाचार

‘तनहुँ बन्दीपुर मेरो माया छ भने कान्छी पाँच वर्ष कुर’ बोलको गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न

प्रहार समाचार । तनहुँ, २८ असोज २०८३ बुधबार । ‘पहाडकी रानी’ उपनामले परिचित पर्यटकीय नगरि तनहुँको बन्दीपुरको प्राकृतिक सौन्दर्य, मायाप्रेम र स्थानीय परिवेशलाई सांगीतिक लयमा उतारिएको ‘तनहुँ बन्दीपुर मेरो माया छ भने कान्छी पाँच वर्ष कुर’ बोलको गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न भएको छ।

तनहुँको बन्दीपुर गाउँपालिका–३, सुकौरा तथा बन्दीपुर बजार क्षेत्रमा छायाङ्कन गरिएको गीतले प्रेम, प्रतीक्षा र मायालु सम्बन्धको भावलाई समेटेको छ। पदम घर्ती र दीपिका बयम्बु मगरको स्वर रहेको गीतमा शब्द तथा लय सिर्जना स्वयं घर्तीले गरेका छन्। प्रेमको भावनालाई बन्दीपुरको सुन्दर परिवेशसँग जोडेर तयार गरिएको यो गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोताको ध्यान तान्ने अपेक्षा गरिएको छ।

म्युजिक भिडियोमा अभिषेक गुरुङ, शोभा थापा मगर र गायक पदम घर्ती मुख्य कलाकारका रूपमा देखिनेछन्। बन्दीपुरको मौलिक परिवेश, स्थानीय सौन्दर्य र प्रेमिल भावलाई दृश्यमा उतार्ने प्रयास गरिएको भिडियोको छायाङ्कनका क्रममा सुकौराका आमा समूह, बाबा समूह, स्थानीयवासी तथा सहयोगी मनहरूले साथ दिएका छन्। निर्माण टोलीले छायाङ्कन सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ। स्थानीय कला, संस्कृति र पर्यटनको पहिचानलाई गीत–संगीतमार्फत उजागर गर्ने प्रयासका रूपमा समेत यस प्रस्तुतिलाई हेरिएको छ।

‘मेरो माया छ भने पाँच वर्ष कुर’ भन्ने प्रेमिल सन्देश बोकेको गीतको म्युजिक भिडियो छिम्केश्वरी अनलाइन टिभीमार्फत छिट्टै सार्वजनिक हुँदैछ। बन्दीपुरको पहिचान, प्रेमको प्रतीक्षा र नेपाली लोकसंगीतको स्वादलाई एकै ठाउँमा समेटिएको यस गीतले कत्तिको चर्चा बटुल्छ, त्यो भने सार्वजनिक भएपछि दर्शक–श्रोताको प्रतिक्रियाले तय गर्नेछ। निर्माण टोलीले भिडियो हेरेर माया, साथ र हौसला प्रदान गरिदिन सम्पूर्ण दर्शक तथा श्रोतासँग आग्रह गरेको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button