प्रहार समाचार । तनहुँ, २७ असोज २०८३ मंगलबार । नेपाली कांग्रेस तनहुँको जिल्ला नेतृत्वलाई लिएर राजनीतिक सरगर्मी बढिरहेका बेला व्यास नगरपालिका–१३ का वडाध्यक्ष एवं युवा नेता बसन्त बहादुर आलेले गुट र प्यानलबाहिरबाट जिल्ला नेतृत्वको जिम्मेवारी सम्हाल्ने घोषणा गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित आलेले सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गर्दै पार्टीभित्र मौलाउँदै गएको गुटबन्दी, चाकरी र चाप्लुसीको प्रवृत्तिमाथि प्रश्न उठाएका छन्। ‘म गुट र प्यानलबाहिरको एउटा सिपाही हुँ’ भन्दै उनले आफ्नो दाबी कुनै समूहको स्वार्थभन्दा माथि समग्र पार्टीको हित, संगठन सुदृढीकरण र कार्यकर्ताको उचित मूल्यांकनसँग जोडिएको बताएका छन्।आलेले कांग्रेसभित्र संगठन निर्माणभन्दा गुटबन्दी र पद प्राप्तिको मोह हाबी हुँदै गएको टिप्पणी गर्दै पार्टीलाई विभाजित मानसिकताबाट बाहिर निकाल्न एकता र सुदृढीकरण आवश्यक रहेको बताएका छन्। विगतको सशस्त्र द्वन्द्वकालमा पार्टी र नेपाल विद्यार्थी संघजस्ता भ्रातृ संस्थाको रक्षामा उभिएको स्मरण गर्दै उनले अहिले पार्टीमाथि भइरहेको मनोवैज्ञानिक र प्राविधिक आक्रमणलाई गम्भीर चुनौतीका रूपमा चित्रण गरेका छन्।
चाकरी र चाप्लुसीका आधारमा होइन, इमानदार, योग्य र क्षमतावान् कार्यकर्ताको योगदानका आधारमा जिम्मेवारी दिने परिपाटी बसाल्नुपर्ने उनको जोड छ। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई समेटेर पार्टीलाई गतिशील बनाउने तथा संगठनलाई क्रमशः युवा पुस्तामा हस्तान्तरण गर्ने संकल्पसमेत उनले व्यक्त गरेका छन्।जिल्ला नेतृत्वको दाबी प्रस्तुत गर्दै आलेले आफ्नो उम्मेदवारीलाई कसैप्रतिको विरोध वा पद प्राप्तिको जिद्दी नभई पार्टीभित्र सन्तुलित नेतृत्व निर्माणका लागि अघि सारिएको सार्वजनिक प्रस्तावका रूपमा व्याख्या गरेका छन्।
अन्य युवा नेताहरूको क्षमताको सम्मान गर्दै उनले आफू गुट र प्यानलभन्दा बाहिर रहेकाले आफ्नो भूमिकालाई अर्थपूर्ण ठानेको बताएका छन्। अग्रजहरूको सम्मान र युवाको उत्साहलाई एकै ठाउँमा जोडेर कांग्रेस तनहुँमा परिवर्तन सम्भव रहेको उल्लेख गर्दै आलेले जिल्ला नेतृत्वको जिम्मेवारीका लागि आफूलाई साथ दिन नेता–कार्यकर्तासँग आग्रह गरेका छन्। उनको घोषणाले आगामी जिल्ला अधिवेशनमा गुटगत समीकरण, युवा नेतृत्वको भूमिका र संगठनभित्रको आन्तरिक प्रतिस्पर्धालाई बहसको केन्द्रमा ल्याएको छ।
























