हेडलाईनसमाचारदेवघाटगण्डकी

देवघाटमा एलजिपिएस अभिमुखीकरण : सुशासनको दाबी होइन, कार्यसम्पादनमा नतिजा देखाउनुपर्ने चुनौती

प्रहार समाचार । तनहुँ, २७ असोज २०८३ मंगलबार । स्थानीय तहमा सुशासन, पारदर्शिता र जवाफदेहिताको अवस्था सुधार गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित देवघाट गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीका लागि दुईदिने स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (LGPAS) सम्बन्धी अभिमुखीकरण तथा कार्यशाला सम्पन्न गरेको छ।

‘समुन्नत देवघाटको आधार; धार्मिक पर्यटन, कृषि र सम्पन्न पूर्वाधार’ भन्ने नारासहित असोज २६ र २७ गते गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा पालिकाका उपाध्यक्ष भुवन सिं गुरुङ, प्रमुख प्रशासकिय अधिकृत प्रधुब्न कुमार खड्का, सबै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य र पालिकाका शाखा प्रमुख लगायतको उपस्थिती रहेको कार्यक्रम अधिकृत कृष्णराज पन्थले जानकारी गराए ।

कार्यक्रममा नेपाल सरकारका पूर्वउपसचिव प्रकाशराज पौडेलले प्रशिक्षण दिएका थिए। स्थानीय शासनको प्रभावकारिता मापन गर्ने सूचक, मूल्याङ्कन प्रक्रिया र कार्यसम्पादन सुधारका विषयमा प्रशिक्षण दिइएको थियो।मूल्याङ्कनको ज्ञानले मात्रै पुग्दैन, कार्यान्वयनमा देखिनुपर्छ सुधारकार्यशालामा सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास तथा वन, वातावरण र विपद् व्यवस्थापनसम्बन्धी पाँचवटा विषयगत क्षेत्रका सूचक, उपसूचक, अङ्कभार र पुष्ट्याइँका आधारबारे प्रशिक्षण दिइएको थियो।

योजना तथा बजेट व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषि, उद्यमशीलता, सडक पूर्वाधार र वातावरण संरक्षणलगायतका क्षेत्रमा गाउँपालिकाको कार्यसम्पादन कसरी मूल्याङ्कन गर्ने भन्ने विषयमा सहभागीलाई अभिमुखीकरण गरिएको थियो। साथै, आवश्यक प्रमाण तथा कागजात पहिचान, अभिलेख व्यवस्थापन, स्वमूल्याङ्कन अभ्यास र सुधारका क्षेत्र निर्धारणमा समेत छलफल गरिएको थियो। तर, यस्ता कार्यक्रमको वास्तविक उपलब्धि प्रशिक्षणमा सहभागी हुनु वा कागजी मूल्याङ्कन गर्न जान्नुमा मात्र सीमित हुँदैन; नागरिकले सहज सेवा पाउनु, विकास निर्माणमा गुणस्तर कायम हुनु र सार्वजनिक स्रोतको प्रभावकारी उपयोग हुनु नै सुशासनको वास्तविक परीक्षा हो।

देवघाटको समृद्धि भाषणमा होइन, सेवा र विकासको परिणाममा खोजिनेछLGPAS कार्यशालाबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै सेवा प्रवाहलाई छरितो, पारदर्शी र जवाफदेही बनाउनु अब देवघाट गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको मुख्य जिम्मेवारी हुनेछ।

कार्यशालाको समापन सत्रमा समूहगत निष्कर्ष प्रस्तुति, कार्यसम्पादनमा देखिएका कमी पहिचान, जिम्मेवारी बाँडफाँट तथा सुधार कार्ययोजना निर्माणमा जोड दिइएको थियो। धार्मिक पर्यटन, कृषि र पूर्वाधारलाई समुन्नत देवघाटको आधार मानिएको अवस्थामा गाउँपालिकाले यी क्षेत्रका योजना तथा कार्यक्रमलाई नतिजामुखी बनाउँदै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने विकास दिन सक्नुपर्छ। सुशासनका सूचकमा अङ्क प्राप्त गर्नु एउटा पक्ष हो, तर नागरिकको विश्वास जित्नु अर्को र अझ महत्त्वपूर्ण पक्ष हो। त्यसैले कार्यशालामा सिकेका कुरा व्यवहारमा कति कार्यान्वयन हुन्छन् र त्यसले गाउँपालिकाको सेवा प्रवाह तथा विकासमा कस्तो परिवर्तन ल्याउँछ भन्ने कुराले नै यस कार्यक्रमको वास्तविक सफलता निर्धारण गर्नेछ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button