प्रहार समाचार । तनहुँ, २६ असोज २०८३ सोमबार । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा सिमेन्ट बोकेको ट्रक सडकबाट करिब २० मिटर तल खस्दा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको लु २ ख १५४ नम्बरको ट्रक आज दिउँसो क चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको हो। दुर्घटनामा धादिङको सिद्धलेक गाउँपालिका–६ निवासी करिब ३० वर्षीय ट्रक चालक सञ्जीव मगर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

सोही स्थानका २२ वर्षीय सहचालक प्रदीप विक शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँबाट ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएको छ। दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। ट्रक सडकबाट तल खसे पनि पृथ्वीराजमार्गमा भने यातायात अवरुद्ध नभएको प्रहरीले जानकारी दिएको छ।
























