प्रहार समाचार । तनहुँ, २६ असोज २०८३ सोमबार । चाडपर्वको मौका छोपेर हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न तनहुँ प्रहरीले तालिमप्राप्त कुकुर (केनाइन) सहितको विशेष आकस्मिक चेकिङ सुरु गरेको छ।

चाडपर्वका बेला लागूऔषधको अवैध ओसारपसार तथा कारोबार, विस्फोटक पदार्थको अवैध ओसारपसार र प्रयोगलगायतका गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सोमबारदेखि जिल्लाका विभिन्न स्थानमा सुरक्षा जाँच अभियान थालिएको हो। प्रहरीले पृथ्वीराजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिकाको कोत्रे बजार, आँबुखैरेनी गाउँपालिकाको मुग्लिङ पुल क्षेत्र तथा राजमार्गका विभिन्न स्थानमा चेकिङ तीव्र बनाएको छ।

राजमार्गमा मात्रै सीमित नरही जिल्लाका भित्री क्षेत्रमासमेत आकस्मिक जाँच सञ्चालन गरिएको छ। तालिमप्राप्त कुकुरको सहयोगमा शंकास्पद गतिविधि तथा प्रतिबन्धित पदार्थको ओसारपसार पहिचान गर्ने लक्ष्यसहित सुरक्षा निगरानी बढाइएको हो।चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रहरीले विशेष सतर्कता अपनाएको छ। लागूऔषध तथा विस्फोटक पदार्थको अवैध कारोबार र ओसारपसार रोक्न केन्द्रित चेकिङले राजमार्गमा हुने आवागमनलाई सुरक्षित बनाउनुका साथै जिल्लाभित्र शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

























