आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

तनहुँको आँबुखैरेनीमा घरदैलोमै सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य सेवा

प्रहार समाचार ।तनहुँ, २६ असोज २०८३ सोमबार । सामाजिक सुरक्षा भत्ता लिन बैंक तथा बजार धाउनुपर्ने र घण्टौँ लाइनमा बस्नुपर्ने ज्येष्ठ नागरिकको बाध्यता अन्त्य गर्दै आँबुखैरेनी गाउँपालिकाले घरदैलोमै भत्ता र स्वास्थ्य सेवा पुर्‍याउन थालेको छ।

गाउँपालिका अध्यक्ष शुक्र चुमान नेतृत्वको जनप्रतिनिधि टोलीले निर्वाचित भएपछि गरेको पहिलो निर्णयअनुसार सुरु भएको यो अभियान अहिले भत्ता वितरणमा मात्र सीमित नरही स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण र स्वास्थ्य परामर्शसहितको एकीकृत सेवामा विस्तार भएको छ। कार्यक्रमले उमेर ढल्किएका नागरिकलाई भत्ता लिनकै लागि यातायात खर्च गरेर बजार पुग्नुपर्ने, घाममा घण्टौँ कुर्नुपर्ने र भीडभाडको सास्ती खेप्नुपर्ने बाध्यता घटाएको छ। गाउँपालिकाले घर तथा टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरणसँगै स्वास्थ्य सेवा उपलब्ध गराउन थालेपछि ज्येष्ठ नागरिक तथा अन्य लाभग्राहीलाई प्रत्यक्ष राहत मिलेको छ।

नागरिकलाई सेवा लिन कार्यालय धाउन बाध्य बनाउनुको सट्टा जनप्रतिनिधि र स्वास्थ्यकर्मी नै घरदैलोमा पुग्ने यो अभ्यास स्थानीय सरकारको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने प्रयासका रूपमा देखिएको छ।गाउँपालिकाले हालै वडा नं. ६ अन्तर्गत हिलेखर्क, जालभञ्ज्याङ, पुरलुङलगायतका टोलमा पुगेर भत्ता वितरण तथा स्वास्थ्य सेवा प्रदान गरेको छ। घरदैलोमै एकीकृत सेवा पुर्‍याउने अभियानले विशेषगरी अशक्त, वृद्धवृद्धा र सहज रूपमा स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने नागरिकलाई राहत दिएको छ। अब यसलाई निरन्तरता दिँदै गाउँपालिकाका सबै लक्षित लाभग्राहीसम्म प्रभावकारी रूपमा विस्तार गर्न सके सामाजिक सुरक्षा र आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सहज हुने देखिन्छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button