प्रहार समाचार । काठमाडौं, २६ असोज २०८३ सोमबार । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रका आन्तरिक तिक्तता बिर्सेर सबैलाई एकताबद्ध गर्दै कांग्रेसलाई बलियो, गतिशील र जनमुखी पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

१५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि पौडेलले आफूलाई प्राप्त जिम्मेवारी र विश्वासलाई राजनीतिक जीवनको ठूलो पुँजीका रूपमा लिँदै पार्टी निर्माणमा समर्पित रहने बताएका हुन् । महामन्त्रीको जिम्मेवारी प्रदान गर्ने महाधिवेशन प्रतिनिधि, मतदाता तथा शुभचिन्तकप्रति आभार व्यक्त गर्दै उनले आगामी राजनीतिक यात्रामा सबैको साथ, सल्लाह र सुझावलाई आत्मसात् गरेर अघि बढ्ने उल्लेख गरेका छन् ।महाधिवेशनबाट व्यक्त जनमतले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्न स्पष्ट सन्देश दिएको उनको भनाइ छ ।
आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको स्वाभाविक र सुन्दर अभ्यासका रूपमा व्याख्या गर्दै पौडेलले विगतका तिक्तता बिर्सेर भावनात्मक एकतासहित पार्टी निर्माणमा जुट्नुपर्नेमा जोड दिएका छन् । मुलुकका जटिल समस्या समाधानमा कांग्रेसले विगतमा खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै उनले वर्तमान राजनीतिक तथा आर्थिक चुनौती सामना गर्न सक्ने समयसापेक्ष पार्टी निर्माण आवश्यक रहेको बताएका छन् । कांग्रेसलाई आम नागरिकको सुखदुःखको साथी बनाउँदै जनजीविका, लोकतन्त्र र नागरिकका अधिकारको रक्षा गर्ने गतिशील, जनमुखी तथा भरोसायोग्य शक्तिका रूपमा रूपान्तरण गर्नु अबको मुख्य दायित्व भएको उनले उल्लेख गरेका छन् । महाधिवेशन सफल बनाउन अहोरात्र खटिने सबैप्रति आभार व्यक्त गर्दै पौडेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।
























