प्रहार समाचार । तनहुँ, २६ असोज २०८३ सोमबार । भौगोलिक विकटता र आर्थिक अभावका कारण आँखाको उपचारबाट वञ्चित ऋषिङ गाउँपालिकाका ९ सय ५४ जना स्थानीय बासिन्दाले निःशुल्क आँखा उपचार सेवा पाएका छन् ।

असोज १७ देखि २४ गतेसम्म सञ्चालित शिविरमा १ सय ३ जना मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । दुर्गमका नागरिकलाई उपचारका लागि सहर धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरले आर्थिक रूपमा विपन्न बिरामीलाई प्रत्यक्ष राहत दिएको छ । नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल, नेपाल नेत्रहीन सङ्घअन्तर्गत समावेशी समाजका लागि कार्य र ऋषिङ गाउँपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

गाउँपालिकाका विभिन्न वडामा सञ्चालित घुम्ती शिविर तथा कोटदरबार स्वास्थ्यचौकीमा आयोजित शल्यक्रिया शिविरमार्फत ५७६ जनाको आँखा परीक्षण तथा उपचार गरिएको छ भने दृष्टिसम्बन्धी समस्या भएका १०१ जनालाई निःशुल्क चश्मा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल अम्गाईंले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत अम्गाईंका अनुसार गाउँपालिकाभरि घुम्ती शिविर सञ्चालन गरी नागरिकलाई घरआँगनमै आँखा उपचार सेवा पुर्याइएको हो ।

गाउँमै आँखा परीक्षण, उपचार, चश्मा वितरण र मोतियाविन्दुको शल्यक्रियासमेत निःशुल्क उपलब्ध भएपछि स्थानीयले उपचारमा लाग्ने खर्च, समय र यात्राको झन्झटबाट राहत पाएका छन् । आर्थिक अभावकै कारण उपचारमा ढिलाइ गर्नुपर्ने बाध्यता भोगिरहेका नागरिकका लागि शिविरले सहज पहुँचको अवसर सिर्जना गरेको छ ।
























