प्रहार समाचार । तनहुँ, २२ असोज २०८३ बिहीबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरेको ‘हामी आउँदैछौँ’ अभियान तनहुँको व्यास नगरपालिकामा आजबाट सुरु गरेको छ।

अभियानको सुरुवातसँगै रास्वपाले निर्वाचनको समयमात्र जनताको घरदैलोमा पुग्ने परम्परागत राजनीतिक शैलीभन्दा बाहिर रहेर नागरिकका समस्या, गुनासा र अपेक्षा प्रत्यक्ष सुन्ने दाबी गरेको छ।

रास्वपाले असोज २० देखि २७ गतेसम्म देशभरका ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहमा पुगेर जनसंवाद तथा सुझाव सङ्कलन गर्ने निर्णय गरेको छ। व्यासमा सुरु भएको अभियानमा रास्वपा गण्डकी प्रदेश सभापति नवीन त्रिपाठी, सांसदद्वय बिना गुरुङ र झवीप्रसाद डुम्रे तथा प्रदेश महामन्त्री कृष्णप्रसाद लम्साल लगायतको उपस्थिति रहेको छ।

अभियानमार्फत स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै विकास निर्माण, सार्वजनिक सेवा, स्थानीय समस्या तथा जनअपेक्षाबारे जानकारी लिने र ती विषय पार्टीको राजनीतिक तहसम्म पुर्याउने रास्वपाको योजना छ। पार्टीले अभियानलाई केवल राजनीतिक कार्यक्रम नभई नागरिकसँग प्रत्यक्ष संवादको माध्यमका रूपमा अघि बढाउने जनाएको छ।रास्वपाको यो अभियानलाई आगामी स्थानीय निर्वाचनको तयारीसँग समेत जोडिएको छ।

पार्टीले स्थानीय तहमा संगठन सक्रिय बनाउने, सम्भावित उम्मेदवार छनोटको प्रक्रिया अघि बढाउने र जनताका अपेक्षालाई राजनीतिक एजेन्डासँग जोड्ने उद्देश्य राखेको जनाएको छ। व्यासबाट सुरु भएको अभियानले तनहुँको स्थानीय राजनीतिमा रास्वपाको संगठन विस्तार र जनसम्पर्कलाई नयाँ चरणमा लैजाने संकेत गरेको छ भने अब जनताले उठाएका प्रश्नको जवाफ र अभियानबाट गरिएका प्रतिबद्धता कार्यान्वयनमा कसरी रूपान्तरण हुन्छन् भन्ने विषय नै यसको वास्तविक राजनीतिक परीक्षा बन्नेछ।























