प्रहार समाचार । ११ व पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को वरिष्ठ नेताको पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

आज एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित स्थायी कमिटीको पहिलो बैठकका क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई शपथ गराएका हुन् । असोज ८ गते बसेको एमाले सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो भने त्यसलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको थियो । अध्यक्ष ओलीपछि दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताको जिम्मेवारी पाएकी भण्डारी शपथपछि पहिलोपटक एमालेको औपचारिक बैठकमा सहभागी भएकी हुन् । राष्ट्रपति बन्नुअघि एमालेकी उपाध्यक्ष रहेकी भण्डारीले राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहेकी थिइन् । उनी २०६६ सालमा तत्कालीन नेकपा एमालेको उपाध्यक्ष बनेकी थिइन् भने २०६७ सालमा पहिलोपटक र २०७२ सालमा दोस्रोपटक नेपालको राष्ट्रपति निर्वाचित भएकी थिइन् । राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेपछि करिब ११ वर्षपछि एमालेको सक्रिय राजनीतिक संरचनामा उनको पुनरागमन भएको हो । भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णयअघि उनको पार्टी सदस्यता नवीकरणदेखि एमालेमा पुनः सक्रिय भूमिकासम्मको विषय लामो समयदेखि राजनीतिक बहसको केन्द्रमा थियो ।
एमालेको विधानमा वरिष्ठ नेताको व्यवस्थाबारे समेत प्रश्न उठेका बेला पार्टीले विशेष निर्णयमार्फत उनलाई उक्त जिम्मेवारी दिएको हो । भण्डारीको पुनरागमनलाई एमालेभित्रको शक्ति–सन्तुलन र आगामी नेतृत्वको समीकरणसँग जोडेर हेरिएको छ । एकातिर दुई कार्यकाल राष्ट्रपति भइसकेकी नेतृ पार्टी राजनीतिमा औपचारिक रूपमा फर्किएकी छन् भने अर्कोतिर अध्यक्ष ओलीकै हातबाट उनले वरिष्ठ नेताको शपथ लिएकी छन् । यसले एमालेको वर्तमान नेतृत्व संरचनाभित्र नयाँ राजनीतिक सन्देश मात्र दिएको छैन, आगामी नेतृत्व र पार्टीभित्रको शक्ति समीकरणबारे पनि बहसलाई थप पेचिलो बनाएको छ । अब भण्डारीको भूमिका पार्टीको बैठक, नीति निर्माण र संगठनात्मक गतिविधिमा कति प्रभावकारी हुन्छ भन्ने विषय एमालेभित्र र बाहिर चासोको विषय बनेको छ ।






















