प्रहार समाचार । तनहुँ, २२ असोज २०८३ बिहीबार । दशैं, तिहार र छठजस्ता ठूला चाडपर्वको मुखमा उपभोक्ताको भीड बढ्दै गर्दा तनहुँका बजारमा उपभोक्ताको स्वास्थ्यसँगै खेलबाड गर्ने गम्भीर दृश्य देखिएको छ।

बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाले डुम्रे बजार तथा आसपासका क्षेत्रमा गरेको छुट्टाछुट्टै अनुगमनका क्रममा म्याद गुज्रेका पेय पदार्थदेखि अखाद्य वस्तु, दर्ता तथा नवीकरणबिनाका व्यवसाय र सरसफाइमा चरम लापरबाहीसम्मका कैफियत भेटिएका छन्। चाडपर्वलाई कमाइको अवसर बनाउने तर उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई बेवास्ता गर्ने प्रवृत्तिमाथि अनुगमनले गम्भीर प्रश्न उठाएको छ।बन्दीपुर गाउँपालिका–४ स्थित पेय पदार्थ बिक्री गर्ने ओशो ट्रेड सर्कलमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रेका पेय पदार्थ बिक्रीका लागि राखिएको अवस्थामा फेला परेका छन्।
गाउँपालिकाका राजस्व प्रमुख मनोज बरालका अनुसार डिलरमा खोजतलास गर्दा कतिपय प्याकमा म्याद गुज्रिसकेको र कतिपयमा म्याद कायम रहेको पेय पदार्थ एउटै क्रेटभित्र मिसाएर बिक्रीका लागि तयारी अवस्थामा राखिएको भेटिएको थियो। उपभोक्ताले विश्वास गरेर किन्ने सामग्रीमै यस्तो लापरबाही भेटिनुले बजारमा खाद्य तथा पेय पदार्थको गुणस्तर र निगरानीको अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ। खाद्य डिभिजन कार्यालय तनहुँका खाद्य निरीक्षण अधिकारी सन्तोष थापाले उपभोक्ताको स्वास्थ्यप्रति लापरबाही भएको पाइए कानुनअनुसार कारबाही हुने बताएका छन्।बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष तथा बजार अनुगमन समिति संयोजक पञ्चमाया गुरुङको नेतृत्वमा खटिएको टोलीले डुम्रे बजारका अन्य किराना तथा खाद्यान्न पसलमा समेत म्याद सकिएका सामग्री फेला पारेको थियो।
टोलीमा वडा सदस्यहरू, उद्योग वाणिज्य संघ डुम्रे बजार इकाइका सभापति दीपक श्रेष्ठ तथा डुम्रे प्रहरी चौकीका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक राजकुमार केसीलगायत सहभागी थिए। उता भानु नगरपालिकाले पनि बुधबार डुम्रे–साजबोटे क्षेत्रमा अनुगमन गर्दा व्यवसाय दर्ता तथा नवीकरण नभएको, सरसफाइ कमजोर रहेको, अखाद्य वस्तु प्रयोग तथा म्याद सकिएका सामग्री बिक्रीवितरण भइरहेको भेटाएको जनाएको छ। मूल्यसूची, पेय पदार्थको म्याद, व्यवसाय दर्ता र बिलबिजकसमेत जाँच गरिएको थियो।चाडपर्वको भीडमा उपभोक्ताको आँखामा छारो हालेर म्याद गुज्रेका सामान बेच्ने, अखाद्य वस्तु बजारमा पठाउने वा नियम मिचेर व्यापार गर्ने प्रवृत्तिमाथि अब कडाइ आवश्यक देखिएको छ।
उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने सामग्रीको बिक्रीमा लापरबाही सामान्य कमजोरी होइन, सार्वजनिक स्वास्थ्यसँग जोडिएको गम्भीर विषय हो। त्यसैले अनुगमन केवल देखावटी कागजी प्रक्रिया बन्ने होइन, भेटिएका कैफियतको प्रकृति र गम्भीरताअनुसार कानुनी कारबाहीसम्म पुग्नुपर्ने देखिन्छ। बन्दीपुर र भानु नगरपालिकाले चाडपर्वभर बजार अनुगमनलाई निरन्तरता दिने जनाएका छन्।






















