प्रहार समाचार । तनहुँ, २२ असोज २०८३ बिहीबार । तनहुँको म्याग्दे उद्योग वाणिज्य संघले म्याग्दे गाउँपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत विकास परियारलाई स्वागत गर्दै स्थानीय उद्योग, व्यवसाय र आर्थिक गतिविधिलाई गति दिन निजी क्षेत्र र स्थानीय सरकारबीचको सहकार्यलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिएको छ ।

संघले आयोजना गरेको स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विकास परियार, संघका अध्यक्ष सुन्दरमणि अधिकारी, उपाध्यक्ष सुरेन्द्र अधिकारी र सचिव राजिव श्रेष्ठले स्थानीय आर्थिक विकासका चुनौती र सम्भावनाबारे धारणा राखेका थिए ।कार्यक्रममा व्यवसायीका समस्या समाधान, लगानीको वातावरण निर्माण र गाउँपालिकाभित्र आर्थिक गतिविधि विस्तारका लागि स्थानीय सरकार र निजी क्षेत्रबीच औपचारिकतामा सीमित नभई व्यवहारमै प्रभावकारी समन्वय आवश्यक रहेको वक्ताहरूले बताए ।
स्थानीय उद्योग तथा व्यवसायलाई प्रोत्साहन, लगानीमैत्री वातावरण निर्माण र व्यवसायीका जायज समस्या सम्बोधन गर्न सके मात्रै म्याग्देको आर्थिक गतिविधिले अपेक्षित गति लिने उनीहरूको भनाइ थियो ।प्रमुख प्रशासकीय अधिकृत परियारले गाउँपालिकाको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै उद्योगी–व्यवसायीका समस्या, सुझाव र अपेक्षालाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै आर्थिक विकास र समृद्धिको आधार बलियो बनाउन पहल गर्ने बताए ।






















