प्रहार समाचार । काठमाडौं, २२ असोज २०८३ बिहीबार । । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज हुने भनिएको मतदानको समय फेरि सरेको छ। यसअघि बिहान ७ बजे, त्यसपछि १० बजे र पछिल्लो सूचनाअनुसार दिउँसो २:३० बजेबाट मतदान सुरु हुने भएको हो। तस्बिर : एआई

भारी वर्षा तथा केही प्राविधिक कारणले निर्वाचन कार्यतालिका प्रभावित भएपछि समय परिवर्तन गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। समितिका सदस्य–सचिव राजु कटुवालद्वारा जारी प्रेस विज्ञप्तिमा ज्येष्ठ मतदाताबाट दिउँसो २:३० बजे मतदान प्रक्रिया सुरु गरिने स्पष्ट गरिएको छ।महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले २ सय ९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्दैछन्। सभापतिसहित पदाधिकारी तथा विभिन्न समूह र प्रतिनिधित्वका आधारमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ। मतदानका लागि महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ भने मतदान सकिएपछि मतगणना प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ।
नेपाली कांग्रेसको संशोधित विधानअनुसार यसपटक केन्द्रीय कार्यसमितिको आकार २ सय ९७ सदस्यीय बनाइएको हो। मतदानको समय पटक–पटक परिवर्तन भएपछि कांग्रेस महाधिवेशनको निर्वाचन व्यवस्थापनमाथि पनि प्रतिनिधिहरूको ध्यान केन्द्रित भएको छ। प्रारम्भिक कार्यतालिकामा बिहानै मतदान गर्ने तयारी भए पनि वर्षा र प्राविधिक तयारीका कारण समय धकेलिँदै अन्ततः दिउँसो २:३० बजेबाट मतदान सुरु गर्ने निर्णय भएको हो। अब कांग्रेसको नयाँ नेतृत्वका लागि ७ हजार २ सय ५५ प्रतिनिधिको मत निर्णायक बन्नेछ। सभापति, पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि हुने मतदानले महाधिवेशनको सबैभन्दा महत्वपूर्ण निर्वाचन प्रक्रिया अघि बढाउनेछ।






















