हेडलाईनसमाचारगण्डकी

‘अबको बेसीशहर सम्भावनाको चर्चा होइन, समृद्धिको परिणाम देखाउने शहर बन्नुपर्छ’ – शर्मा

• विजय अधिकारी ( संवाददाता) लमजुङ, २२ असोज २०८३ बिहीबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङका जिल्ला सदस्य भोला शर्माले बेसीशहरलाई सम्भावनाको चर्चा गर्ने शहरबाट परिणाममुखी र समृद्ध शहरमा रूपान्तरण गर्नुपर्ने बताएका छन्।

उनले बेसीशहरको आर्थिक, प्रशासनिक, शैक्षिक, पर्यटन तथा व्यावसायिक सम्भावनालाई योजनाबद्ध ढंगले उपयोग गर्दै दीर्घकालीन विकासको स्पष्ट खाका बनाउनुपर्नेमा जोड दिएका छन्।शर्माले बेसीशहरको विकास टुक्रे योजना र तत्कालीन आवश्यकतामा सीमित राख्न नहुने भन्दै कम्तीमा २० देखि ३० वर्षको दीर्घकालीन मास्टरप्लान आवश्यक रहेको बताएका छन्।

शर्माले सडक, ढल, खानेपानी, पार्किङ, बजार व्यवस्थापन, फोहोरमैला, आवास तथा व्यावसायिक क्षेत्रलाई व्यवस्थित गर्दै रोजगारी र उद्यमको केन्द्र बनाउनुपर्ने उल्लेख गरेका छन् । उनले युवालाई विदेश पलायन हुन बाध्य बनाउने अवस्थाको अन्त्य गर्दै स्थानीय उत्पादन, कृषि प्रशोधन, पर्यटन, सूचना प्रविधि तथा साना–मझौला उद्यममार्फत युवालाई सीप, पूँजी, प्रविधि र बजारसँग जोड्नुपर्नेमा जोड दिएका छन्। बेसीशहरलाई अन्नपूर्ण पदमार्गको प्रवेशद्वारमा मात्र सीमित नराखी आफैँमा पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्ने, कृषि उत्पादनलाई बजारसँग जोड्नुपर्ने तथा शिक्षा र स्वास्थ्यलाई क्षेत्रीय केन्द्रका रूपमा विस्तार गर्नुपर्ने शर्माको प्रस्ताव छ।

साथै फोहोरमैला व्यवस्थापन, हरियाली तथा सार्वजनिक पार्क, डिजिटल सेवा, बजेट र योजनामा पारदर्शिता तथा सबै क्षेत्र र समुदायलाई समान विकासको अवसर सुनिश्चित गर्नुपर्ने उनले बताएका छन्।शर्माले अब बेसीशहरको राजनीति व्यक्ति केन्द्रित नभई नीति, परिणाम र जवाफदेहितामा आधारित हुनुपर्नेमा जोड दिएका छन्। “अबको बेसीशहर सम्भावनाको चर्चा गर्ने शहर होइन, सम्भावनालाई समृद्धिमा बदल्ने शहर बन्नुपर्छ,” भन्दै उनले नयाँ सडक र भवनसँगै नयाँ सोच, नयाँ प्रणाली र बजेटको सही परिणाम आवश्यक रहेको बताएका छन्। उनका अनुसार सम्भावनालाई अवसरमा, अवसरलाई उत्पादनमा, उत्पादनलाई रोजगारीमा र रोजगारीलाई समृद्धिमा रूपान्तरण गर्ने बेसीशहर निर्माण अबको प्राथमिकता हुनुपर्छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button