प्रहार समाचार । तनहुँ, २१ असोज २०८३ बुधबार । डेंगी संक्रमणको जोखिम बढ्दै जाँदा तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनिकोट पोखरी भञ्ज्याङ स्वास्थ्य चौकीले घरआँगनमै पुगेर ‘खोजौँ र नष्ट गरौँ’ अभियान सञ्चालन गरेको छ।

समुदायमा डेंगीको जोखिम न्यूनीकरणसँगै रोगको समयमै पहिचान र स्वास्थ्य सचेतना बढाउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा स्वास्थ्य परीक्षण, परामर्श, डेंगीसम्बन्धी सचेतना तथा क्षयरोग पहिचानका लागि खकार परीक्षण गरिएको हो। अहेव दुमाया राना र एचए सुनिता श्रेष्ठले स्थानीयको स्वास्थ्य परीक्षण गर्दै डेंगीका लक्षण, बच्ने उपाय, सरसफाइ र समयमै उपचारको आवश्यकताबारे जानकारी दिएका थिए।

अभियानका क्रममा घर तथा वरपर पानी जम्ने सम्भावित स्थानको खोजी गरी नष्ट गर्न, लामखुट्टेले फूल पार्ने ठाउँ सफा राख्न र पानी जम्न नदिन स्थानीयलाई सचेत गराइएको थियो। साथै क्षयरोगको सम्भावित जोखिममा रहेका व्यक्तिको खकार परीक्षण गरी आवश्यक परामर्श र थप उपचारका लागि सिफारिस गरिएको स्वास्थ्य चौकीले जनाएको छ। कार्यक्रममा आन्तरिक परिचालक बिमला राना, स्वास्थ्य आमा समूह तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको थियो।

श्रीमाया थापा, किसान थापा, कालबहादुर राना लगायत शान्ती, सिखर्दी, डाँडावारी र कोटगाउँ क्षेत्रका २५ जना स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन्। स्वास्थ्यकर्मीहरूले डेंगी र क्षयरोगजस्ता सरुवा रोग नियन्त्रणका लागि औषधि उपचारसँगै समुदायस्तरमै रोग खोज्ने, जोखिमयुक्त स्थान नष्ट गर्ने र समयमै पहिचान गर्ने अभियान प्रभावकारी हुने बताएका छन्। स्वास्थ्य चौकीको यो पहलले डेंगी नियन्त्रणको जिम्मेवारी स्वास्थ्य संस्थाको मात्र नभई प्रत्येक घर र समुदायको साझा दायित्व भएको सन्देशसमेत दिएको छ।






















