दमौली । कुमारी बैंक लिमिटेडले दमौली शाखाले नयाँ फराकिलो स्थान व्यास नगरपालिका–२, न्युरोड चोकबाट सेवा सुरु गरेको छ । २०८३ असोज १९ गतेदेखि पुरानो स्थानबाट करिब ४०० मिटर पूर्वतर्फ रहेको नयाँ परिसरबाट सम्पूर्ण बैंकिङ कारोबार सञ्चालनमा ल्याएको हो।

नयाँ स्थानान्तरणलाई बैंकले ग्राहकको बढ्दो आवश्यकता, सहज पहुँच र आधुनिक तथा ग्राहकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने कदमका रूपमा लिएको छ। दमौलीमा २०६५ साल असारदेखि बैंकिङ यात्रा थालेको बैंकले करिब १८ वर्षको अवधिमा सर्वसाधारण, व्यवसायी, उद्योगी तथा संघसंस्थामाझ आफ्नो सेवा विस्तार गर्दै आएको छ।

बचत तथा कर्जा सेवासँगै एटीएम, डिजिटल बैंकिङ, वित्तीय साक्षरता तथा सामाजिक उत्तरदायित्वका गतिविधिमार्फत स्थानीय समुदायसँगको सम्बन्ध बलियो बनाएको बैंकले सन् २०२३ मा एनसीसी बैंकसँगको मर्जरपछि थप विस्तारित सञ्जालसहित सेवा दिँदै आएको छ।

नयाँ स्थानबाट बैंकिङ सेवा अझ व्यवस्थित, छरितो र प्रभावकारी हुने अपेक्षा गरिएको छ। करिब २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले हाल देशभर २ सय ७९ शाखा, ४१ एक्सटेन्सन काउण्टर, २ सय ९६ एटीएम र ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा सञ्चालन गरिरहेको जनाएको छ। वित्तीय पहुँच र साक्षरता विस्तारलाई प्राथमिकतामा राख्दै नवीन प्रविधिको प्रयोग र ग्राहक सेवामा निरन्तर सुधार गर्ने प्रतिबद्धता जनाएको बैंकले दमौली शाखाको नयाँ यात्रालाई पनि स्थानीय ग्राहकसँगको सम्बन्ध थप मजबुत बनाउने अवसरका रूपमा अघि सारेको छ।























