व्यासहेडलाईनसमाचारगण्डकी

‘नेता हार्न सक्छ, विचार हार्नु हुँदैन’ : कांग्रेस महाधिवेशन प्रतिनिधि देवकुमार श्रेष्ठको गुटबन्दीमाथि कडा प्रहार

प्रहार समाचार । तनहुँ, २१ असोज २०८३ बुधबार । द नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. १ को १५औँ अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा विजयी देवकुमार श्रेष्ठले पार्टीभित्र मौलाउँदै गएको गुटबन्दी, व्यक्ति–स्वार्थ र प्रतिशोधको राजनीतिमाथि कडा प्रहार गरेका छन्।

अधिवेशनलाई आफूले राजनीतिक पाठशालाका रूपमा लिएको बताउँदै श्रेष्ठले कांग्रेसलाई बलियो बनाउन ‘म’ र ‘हामी’को स्वार्थभन्दा माथि उठेर पार्टी र देशलाई केन्द्रमा राख्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।श्रेष्ठले गुटबन्दीले पार्टीभित्र फुट सिर्जना गर्ने भन्दै आफूले क्षेत्रीय अधिवेशनकै क्रममा गुटको विरोधमा स्पष्ट धारणा राखेको उल्लेख गरेका छन्। ‘व्यक्तिको बाटो रोकिए पनि विचारको बाटो रोकिँदैन’ भन्दै उनले आफूलाई केन्द्रीय राजनीतिमा समाहित हुन नदिन प्रयास भएको महसुस गरेको बताएका छन्। उनका अनुसार नेता पराजित हुन सक्छ तर विचार, सत्य र न्यायको आवाज पराजित हुनु हुँदैन।उनले वैरभाव र प्रतिशोधलाई राजनीति ठान्ने प्रवृत्तिले कांग्रेसको संगठन कमजोर बनाउने चेतावनी दिएका छन्। देश र दलभन्दा व्यक्ति तथा स्वार्थलाई ठूलो ठान्ने प्रवृत्तिले संगठनको जरा कमजोर बनाउने भन्दै श्रेष्ठले मतदातालाई प्रभावमा पार्ने र निर्वाचनलाई स्वार्थपूर्तिको माध्यम बनाउने प्रवृत्तिप्रति पनि प्रश्न उठाएका छन्।

उनले आफ्नो विरोध कुनै व्यक्तिविशेषप्रति नभई गलत प्रवृत्तिविरुद्ध भएको स्पष्ट पार्दै हार्नेहरूको आवाज र मुद्दालाई समेत निरन्तर उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।अधिवेशनमा आफूलाई विश्वास गरेर साथ दिने शुभेच्छुक तथा मतदाताप्रति आभार व्यक्त गर्दै श्रेष्ठले केही परिस्थितिमा उनीहरूको मत र भावनालाई उचित रूपमा संरक्षण गर्न नसकेकोमा क्षमायाचना गरेका छन्। विजयी सबैलाई बधाई दिँदै पराजित तथा इमानदार साथीहरूप्रति सम्मान कायम रहने बताएका उनले ‘म स्वार्थको पक्षमा होइन, न्याय र विचारको पक्षमा उभिनेछु’ भन्दै आफ्नो राजनीतिक यात्रा नागरिक र मतदाताको विश्वाससँग जोडिएको संकेत गरेका छन्। ‘नागरिक र मतदाताबिना रहन सक्दिनँ’ भन्ने उनको अभिव्यक्तिले आगामी राजनीतिक भूमिकालाई पनि जनमत र विचारको पक्षमा केन्द्रित गर्ने सन्देश दिएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button