प्रहार समाचार । तनहुँ, २० असोज २०८३ मङ्गलवार ! नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै तनहुँका छ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिने भएको छ ।

यात्राका क्रममा यात्रुले भोग्नुपर्ने समस्या, बढी भाडा असुली, चोरी–डकैती तथा लुटपाटलगायतका घटना न्यूनीकरण गर्दै यात्रुलाई सुरक्षित र सहज यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा सहायता कक्ष सञ्चालन गर्न लागिएको हो। आज व्यास नगरपालिका–१ करङकाठस्थित बसपार्कमा आयोजित समारोहबीच तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले यात्रु सहायता कक्षको शुभारम्भ गर्दै गृह मन्त्रालयको परिपत्रअनुसार चाडपर्वका बेला यात्रुको सुरक्षा र यात्राका क्रममा पर्न सक्ने समस्यालाई ध्यानमा राखेर सहायता कक्ष सञ्चालन गरिएको बताए। उनले यात्राका क्रममा बढी भाडा असुल्ने, यात्रुलाई दुःख दिने वा अन्य कुनै समस्या परे तत्काल प्रहरीको निःशुल्क नम्बर १०० मा सम्पर्क गर्न आग्रह गरे।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै यात्रुको सुरक्षा, यातायात व्यवस्थापन तथा यात्राका क्रममा हुन सक्ने समस्यालाई तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष सञ्चालन गर्न लागिएको बताए। उनले यात्रुमाथि हुने दुर्व्यवहार, बढी भाडा असुली, चोरी, लुटपाटलगायतका गतिविधि न्यूनीकरणका लागि प्रहरीको निगरानी र उपस्थिति बढाइनेमा जोड दिए।

उनका अनुसार दमौलीसहित भिमाद नगरपालिकाको भिमाद बजार, शुक्लागण्डकी नगरपालिकाको बेलचौतारा, बन्दीपुर गाउँपालिकाको डुम्रे बजार, आँबुखैरेनी गाउँपालिकाको आँबुखैरेनी र भानु नगरपालिकाको पुर्कोट गरी जिल्लाका छ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन हुनेछन्। चाडपर्वका समयमा यात्रुको चाप बढ्ने र यही मौकामा हुने बढी भाडा असुली, चोरी–डकैती तथा यात्रुमाथिको दुर्व्यवहारजस्ता गतिविधि नियन्त्रणमा सहायता कक्ष प्रभावकारी हुने प्रहरीको अपेक्षा छ।

नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारी ‘डीपी’ले नागरिकलाई सहज हुने स्थानमा सहायता कक्ष राखेर त्यसको सेवा प्रभावकारी बनाउनुपर्ने बताए।

तनहुँ व्यासभूमि यातायात प्रालिका कार्यालय प्रमुख श्रीभद्र कँडेलले पनि यात्रुको प्रत्यक्ष सहजीकरण हुने स्थानमै सहायता कक्ष सञ्चालन गर्नुपर्नेमा जोड दिए। चाडपर्वमा यात्रुको चाप बढ्ने समयमा सहायता कक्षलाई केवल औपचारिकतामा सीमित नराखी गुनासो सुन्ने, तत्काल समन्वय गर्ने, बढी भाडा असुली नियन्त्रण गर्ने र यात्रुको सुरक्षाको प्रत्याभूति दिलाउने प्रभावकारी संयन्त्रका रूपमा परिचालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।























