प्रहार समाचार । काठमाडौं, २० असोज २०८३ मङ्गलवार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पहिलोपटक सिर्जना गरेको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। उम्मेदवारी दर्ताको समय आज साँझ ७ बजेसम्म उक्त पदमा शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।

कांग्रेसले यसै महाधिवेशनबाट विधान संशोधन गर्दै वरिष्ठ उपसभापतिको नयाँ पद थपेको हो, जसलाई सभापतिपछिको वरीयतामा राखिएको छ। पद नयाँ, दाबेदार एकै—शर्माका लागि बाटो पहिले नै खुला देखिने गरी वरिष्ठ उपसभापतिको व्यवस्था गरिएको विषय कांग्रेसभित्र चासोको विषय बनेको छ। १४औँ महाधिवेशनबाट लोकप्रिय मतसहित महामन्त्री निर्वाचित शर्मा गत विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए।
अहिले त्यही जिम्मेवारीबाट थप एक खुड्किलो माथि उक्लिँदै उनी सभापतिपछिको वरीयतामा पुगेका छन्। यससँगै कांग्रेसको १५औँ महाधिवेशनले विश्वप्रकाश शर्माको राजनीतिक हैसियतलाई नयाँ संरचनाभित्र औपचारिक रूपमा स्थापित गरेको छ। तर, निर्वाचनको प्रतिस्पर्धात्मक प्रक्रियाभन्दा नयाँ सिर्जना गरिएको पदमा एकल उम्मेदवारीमार्फत निर्विरोध चयन भएको घटनाले कांग्रेसको आन्तरिक लोकतन्त्र, पद सिर्जनाको औचित्य र नेतृत्व व्यवस्थापनबारे बहसको ढोका पनि खोलेको छ।






















